राजनीति


हाम्रो प्रतिस्पर्धा कांग्रेससँग होइन, माओवादीलाई बाईबाई गरौँ : पार्वत गुरुङ

हाम्रो प्रतिस्पर्धा कांग्रेससँग होइन, माओवादीलाई बाईबाई गरौँ : पार्वत गुरुङ

नेपालखबर
मंसिर १, २०८१ शनिबार १७:०, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिसनतन्त्र चलाइरहेको आरोप लगाएका छन्।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकास विरोधी, अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले उसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गरे। 

‘माओवादी राजनीतिक पार्टी होइन, ऊ हत्या हिंसामा विश्वास गर्ने पार्टी हो। ऊ विकास होइन, कमिसनका विश्वास गर्ने पार्टी हो। त्यसैले म दाबाका साथ भन्छु– प्रमाणका साथ भन्छु, हाम्रो प्रतिस्पर्धा कुनै नेपाली कांग्रेससँग होइन। हामी कांग्रेससँग मिलेर यो देशमा स्थायित्व दिन चाहन्छौँ। राजनीतिक स्थिरता दिन चाहन्छौँ। र बलियो राष्टिय शक्ति निर्माण गर्न चाहन्छौँ। आफ्नो अस्तित्व टिकाउने र बचाउने पार्टी माओवादीलाई बाईबाई गर्न चाहन्छौँ। र राष्टिय राजनीतिमा माओवादी बाईबाई भइसक्यो, दोलखाले पनि बिदाई गर्नुपर्छ,’ उनले भने।

माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएको र विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको दाबी छ।

नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढ्नु परेको पनि बताए।

‘माओवादी केन्द्र कुनै पनि राजनीतिक संस्कार बोकेको, विकासलाई अगुवाई गर्ने पार्टी होइन। माओवादीले त २०७४ सालमा आएर पनि कुलबहादुर तामाङको हत्या गर्ने पार्टी हो। त्यसैले हामीले गौरीशंकरबाट कुलबहादुरको रगतको बदला लिन जरुरी छ।दिलबहादुर खत्री अहिले पनि अपांग हुुनुहुन्छ। उहाँ घाइते हुनुहुन्छ। यस्तो अवस्थामा हामीले उनीहरूको हितको निम्ति पनि गौरीशंकरमा एमालेले विजयको झण्डा गाड्नु छ। त्यसैले म सहीद कुलबहादुरलाई सम्झन चाहन्छु। बुद्धिमान पाख्रिनलाई सम्झिन चाहन्छु। स्वर्गीय पशुपति दाईलाई सम्झिन चाहन्छु। सम्मान व्यक्त गर्न चाहन्छु। हामीले सहिदहरूको रगतबाट संचित दोलखाको भूमिलाई अब माओवादीबाट बाईबाई गर्नुपर्छ,’ उनले भने।

एमालेले पार्टीको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ। पार्टीका स्थायी समिति सदस्य डा. राजन भट्टराईले उनलाई पार्टीको तर्फबाट उम्मदवारको टिकट औपचारिक रुपमा वितरण गरेका थिए।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रिय सदस्य सरस्वती बस्नेतलगायतका नेताहरुले गौरीशंकर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad