ad ad

राजनीति


प्रधानमन्त्रीमा इन्फेक्सनको डर छ, बालुवाटारमा निगरानीमा राखिने छः चिकित्सक

प्रधानमन्त्रीमा इन्फेक्सनको डर छ, बालुवाटारमा निगरानीमा राखिने छः चिकित्सक

शरद शर्मा/अशोक घिमिरे
फागुन ३०, २०७६ शुक्रबार १५:२१,

‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आका‌ंक्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कनेछु’, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए।

आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा मिर्गौलाको सफल प्रत्यारोपण गरी त्यही थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘डिस्चार्ज’ भएका छन्। प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनबहादुर ओलीले आर्शिवाद दिएका थिए। डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले यही फागुन २१ गते बिहान करिब १० बजे प्रत्यारोपण शुरु गरेको थियो। करिब पाँच घण्टा लगाएर प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा सङ्ग्रौलाले एउटा मिर्गौला दान गरेकी थिइन्। यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका थिए।

डिस्चार्ज हुनुअघि उनकी धर्मपत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना भएका थिए। उनलाई ६०१ नं शय्यामा भर्ना गरिएको थियो। प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णय लिएपछि यसलाई शिक्षण अस्पताल चिकित्सकले अवसरका रुपमा लिएको जनाएका थिए।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागका प्रमुख एवं प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहाले शिक्षण अस्पतालका चिकित्सकमाथि भरोसा गरी उपचार गर्ने अवसर दिएको भन्दै आफूहरु गौरवान्वित भएको बताइा्। डिस्चार्जपछि प्रधानमन्त्री समयसमयमा ‘फलोअप’ मा रहनुपर्ने र आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै काम गर्न सक्ने उनले बताइन्।

प्रधानमन्त्रीलाई ‘कन्ट्रोल रुम’मा राखिने
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीका प्रमुख प्राडा उत्तमकुमार शर्माले उनमा कुनै संक्रमण नभएको र पूर्ण स्वास्थ्यलाभ भएपछि नै डिस्चार्ज गरिएको जानकारी दिए। प्रधानमन्त्रीलाई कुनै संक्रमण नहोस् भनेर बालुवाटारमा ‘कन्ट्रोल रुम’ को बन्दोबस्त गरिएको छ। शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। ‘उहाँको शरीरमा पाइप र टाँका रहेका छन्। घाउ हेरेर पाइप र टाँका एक÷दुई दिनमा निकालिने छ’, उनले भने, ‘सबै पारामिटर हेरेर प्रधानमन्त्रीको शरीरमा राखिएको सबै पाइप निकालिने छ। उहाँलाई इन्फेक्सनको डर छ, उहाँमा सङ्क्रमण नहोस् भनेर बालुवाटारमा पनि चिकित्सकको निगरानीमा राखिने छ।’

अहिले प्रधानमन्त्रीको शरीर कमजोर रहेको उनको भनाइ थियो। ‘कीटाणुले आक्रमण गर्न सक्छ, त्यही भएर औषधि खाइरहनुपर्छ। तीन महिनासम्म आराम गर्नुपर्छ’, डा शर्माले भने, ‘साधारण काम गर्न सक्नुहुन्छ, प्रत्यक्ष कुराकानी गर्न मिल्दैन, ठूलो शल्याक्रिया पछाडि हिँडडुल गर्न अप्ठ्यारो भएकाले उहाँलाई समातेर लगिएको हो।’

सार्वजनिक कार्यक्रममा तत्काल सहभागी हुन नहुने र प्रधानमन्त्रीको शारीरिक अवस्था हेरेर यसबारेमा सुझाव दिइने उनले बताए। उनको अवस्था सन्तोषजनक भएपछि डिस्चार्ज गरिएको हो। उनको नियमित स्वास्थ्य परीक्षण गरिने छ। प्रधानमन्त्रीलाई बालुवाटारमा भए पनि चिकित्सकको निगरानीमा राखिनेछ।

प्रधानमन्त्रीद्वारा सबैप्रति आभार
डिस्चार्ज भएर बालुवाटार पुगेलगत्तै प्रधानमन्त्रीले ट्वीटमार्फत अस्पतालमा रहँदा स्वास्थ्यलाभको कामना गर्ने मित्र एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। ‘बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु’, उनले ट्वीटमा भनेका छन्, ‘मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति विशेष आभारी छु।’

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली दिनभर आफ्नो निवास बालुवाटारमा विभिन्न कार्यक्रममा व्यस्त थिए। प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औँ योजनाको आधारपत्रलाई स्वीकृत गरेको थियो। त्यही दिन आफ्नो स्वास्थ्यलाभको कामना गर्न आएका मुलुकका विशिष्ट व्यक्तिबाट शुभेच्छा लिन पनि भ्याइनभ्याइमा थिए।

स्वास्थ्य खबरमा सहजता
प्रधानमन्त्री ओली अस्पताल भर्ना भएदेखि नै उनको स्वास्थ्यसम्बन्धी खबर सम्प्रेषण गर्न सञ्चारकर्मीको अस्पताल परिसरमा निकै घुइँचो लागेको थियो। उनको स्वास्थ्यका बारेमा जनस्तरमा पनि निकै चासो देखिन्थ्यो। प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी जानकारी दिन अस्पतालले नियमित रुपमा अपराह्न ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आएको थियो।

एकद्वार प्रणालीबाट सूचना प्रवाह भइरहँदा सञ्चारकर्मीले कुनै कठिनाइ भोग्नु परेको थिएन। त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी जानकारी सामाजिक सञ्जालमा पनि नियमित भइरहेको थियो। सर्वसाधारणले पनि सहजै सूचनामा पहुँच राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .