ad ad

कारोबार


चार सय फर्मलाई कारवाही

चार सय फर्मलाई कारवाही

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १५:१२,

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट रु एक करोड १६ लाख ७२ हजार राजश्व संकलन भएको छ। उनका अनुसार काठमाडौँ उपत्यका र उपत्यकाबाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो।

विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनको १६ गतेसम्म काठमाडौँसहित विभिन्न जिल्लाका एक हजार दुई सय ३३ फर्म तथा उद्योगमा अनुगमन गरेको जनाएको छ। विभागको तथ्या‌ंकअनुसार बजार अनुगमनका क्रममा १४४ फर्मलाई स्पष्टीकरण, ५४१ फर्मलाई निर्देशन, २१ फर्मको नमूना परीक्षणका लागि लिइएको र ४८ फर्मको कारोवार रोक्का गरिएको छ।

त्यस्तै अनुगमका क्रममा भेटिएका एक करोड ५३ लाख ७८ हजार बराबरका गुणस्तरहीन, म्याद समाप्त भएका वस्तु नष्ट गरिएको उनले बताए। उनका अनुसार चालु आवमा एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य थियो तर हामीले लक्ष्य पूरा गरी थप एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै विभागमा गरिमा जातको नक्कली धानको बीउका बारेमा उजुरी परेपछि विभागले विभिन्न १७ फर्मलाई कारवाही गरेको छ। किसानको उजुरीपछि गठित टोलीले स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरी बीउ आयातकर्तालाई रु तीन लाख र अन्य बिक्रेतालाई रु दुई लाखको दरले जरिवाना तोकेको थियो।

कारवाहीमा परेका १७ फर्ममध्ये लमही नगरपालिका–३ दाङको सनराइज एग्रिकल्चर रिसर्च प्रालिलाई रु तीन लाख र अन्य १५ फर्मलाई रु दुई लाख र एक फर्मलाई रु २० हजार जरिवाना गर्दा रु ३१ लाख २० हजार राजश्व संकलन भएको जनाएको छ।

विश्व उपभोक्ता दिवस मनाइने

‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ भन्ने मूल नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजनामा आगामी चैत २ गते उक्त कार्यक्रम आयोजना हुने विभागले जनाएको छ। विभागका महानिर्देशक सुवेदीका अनुसार औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो।

‘दिवसजस्तो कार्यक्रमपछि सार्न नमिल्ने हुँदा सचेतनामूलक कार्यक्रम गरी मनाउने तयारी गरिएको हो’, उनले भने, ‘पछिल्लो समय कोरोना भाइरसका कारण सामान्य कार्यक्रम गरी मनाउने निर्णय गरिएको हो।’ उनका अनुसार संघ, प्रदेश र स्थानीय तहका साथै जिल्ला प्रशासन कार्यालय र विभाग मातहतका पाँचवटै कार्यालयको संयुक्तरुपमा कार्यक्रम आयोजना गरिनेछ।

विभागले दिवसका अवसरमा कर्मचारी, उपभोक्ताकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा आम उपभोक्ताको सहभागीमा सचेतनामूलक कार्यक्रम गरी मनाउने जनाएको छ। त्यस्तै उद्योगमन्त्रीले उपभोक्ता अधिकार सद्भावनादूत नियुक्त गर्नेसमेत महानिर्देशक सुवेदीले जानकारी दिए।

पछिल्लो पटक कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले ठूला समारोह र भीडभाडमा नजान आग्रह गरेसँगै विभागले परिसरमै दिवस मनाउने तयारी गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .