राजनीति


राजनीतिमा फर्किंदै नन्दबहादुर पुन, उपाध्यक्ष बनाउने प्रचण्डको आश्वासन

राजनीतिमा फर्किंदै नन्दबहादुर पुन, उपाध्यक्ष बनाउने प्रचण्डको आश्वासन

रामकुमार डिसी
कात्तिक २९, २०८१ बिहिबार २०:२, काठमाडौँ

दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ फेरि सक्रिय राजनीतिमा फर्किने तयारीमा छन्। 

उपराष्ट्रपतिको कार्यालय छोडेको करिब डेढ वर्षपछि माओवादीको बैठकमा सहभागी भएर सक्रिय राजनीतिको सुरुवात गरेका हुन्। 

पुन सोमबार प्रचण्डनिवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी (केन्द्रीय कार्यालय) बैठकमा सहभागी भएका थिए। 

माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले पदाधिकारी बैठकमा पुन सहभागी भएको भए पनि उनको पदबारे टुंगो लागिसकेको थिएन।

‘उहाँ अनौपचारिक रूपमा बैठकमा बस्नु भएको थियो,’ आचार्यले भने, ‘पदको बारेमा टुंगिसकेको छैन। छलफलपछि टुंग्याउने कुरा भएको छ।’

तर, माओवादी अध्यक्ष प्रचण्डले भने पुनलाई उपाध्यक्ष बनाउने आश्वासनसहित बैठकमा बोलाएका थिए। 

सभामुखको कार्यकाल सकिएपछि अग्नि सापकोटा माओवादीको उपाध्यक्ष बनेर राजनीतिमा सक्रिय भएका छन्। उपराष्ट्रपति भइसकेका पुन पनि त्यही वरीयतामा बस्नेगरी तयार भएका हुन्। 

वि.सं. २०७२ कार्तिक १३ गते उपराष्ट्रपति भएका पुन ७ वर्षपछि २०७९ चैत ६ मा बाहिरिएका थिए। 

प्रचण्डले भनेका थिए : उपाध्यक्ष बस्नेगरी बैठकमा आउनुहोस्
उपराष्ट्रपतिको कार्यकाल पूरा गरेपछि पुन फुर्सदिला बनेका थिए। उनलाई निकटहरूले पार्टीसँग नजिक रहँदै सामाजिक काममा सक्रिय हुन सुझाव दिएका थिए। 

६० वर्षमा टेक्न लागेका पुन भने बाँकी जीवन कसरी बिताउने भन्नेमा अलमलमै थिए। करिब डेढ वर्षको समय उनले त्यत्तिकै बिताए।
 
यो बीचमा उनी आफ्नो पुरानो घर रोल्पा गए। सामान्य खालका केही सामाजिक कार्यक्रममा सहभागी हुनेबाहेक उनले आफूलाई खासै सक्रिय बनाएका थिएनन्। 

अलमलमै बसेका बेला प्रचण्डले उनलाई राजनीतिमा सक्रिय हुन प्रस्ताव राखे। त्यसमा तयार भए पार्टीको उपाध्यक्ष बनाउने आवश्वासन प्रचण्डले दिए। 

प्रचण्डको उक्त प्रस्तावबारे पुनले परिवार र आफूनिकटहरूसँग छलफल गरेका थिए। 

आफू निकटहरूसँग पुनले राय मागेका थिए– प्रचण्डले म बैठकमा बोलाउँछु, उपाध्यक्षमा बस्नुहोस् भन्ने कुरा गर्नु छ। के गर्ने होला?

सक्रिय राजनीति गर्न मन नै भए गर्न उनले निकटहरूबाट सुझाव पाए। 

‘गर्ने मन भए गर्नुहोस्,’ निकटहरूको पुनलाई सुझाव थियो, ‘अलिकति नीतिगत कुरामा काम गर्नुहोला।’

परिवारबाटै ‘ग्रिन सिग्नल’ पाएपछि उनी खुमलटारमा राखिएको पदाधिकारी बैठकमै सहभागी भए। 

पुनलाई पार्टीमा ल्याउन प्रचण्डको रुचि देखिन्छ। यसका पछाडि दुई उपमहासचिवहरू वर्षमान पुन र जर्नादन शर्मा रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन्। 

गत साउनमा जनार्दनले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्नेसहितका प्रस्ताव अघि सारेका थिए। त्यसमा वर्षमानको पनि सर्मथन थियो। 

त्यो प्रस्तावपछि आफूलाई पार्टीमा चुनौती ठानेका प्रचण्डले माओवादी छाडेर गएका नक्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग तत्काल एकताको प्रस्ताव गरेका थिए। 

जर्नादनको प्रस्तावमाथि केन्द्रीय समितिमा औपचारिक छलफल गराउने वचन प्रचण्डले दिएका थिए। लगत्तै प्रचण्डले जनार्दनको प्रस्तावबारे मत बुझ्न प्रदेश दौडाहा गरेका थिए। 

त्यहाँ आफूलाई चुनौती दिनेगरी यथेष्ट मत नदेखेपछि थोरै राहत महुसस गरेका प्रचण्डले पुस २ गते केन्द्रीय समिति बैठक बोलाएका छन्।  

त्यो बैठकमा जनार्दनको प्रस्तावमाथि छलफल हुने, नहुने यकिन छैन। तर, प्रचण्डले आफूमाथि आउन सक्ने चुनौतीलाई मत्थर पार्न विप्लवसँग पार्टी एकता र पासाङलाई पार्टीमा सक्रिय बनाउन खोजेको माओवादीका नेताहरूको बुझाइ छ। 

वरिष्ठ उपाधयक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, विप्लव, पासाङ लगायतका नेताहरू आफूसँग हुँदा जनार्दन र वर्षमानलाई सन्तुलनमा राख्न सकिने प्रचण्डको हिसाब रहेको उनीहरूको अड्क छ।

स्रोतका अनुसार राजनीतिमा सक्रिय हुने प्रस्ताव प्रचण्डले पासाङसँग राख्दा आफूलाई पार्टीमा अप्ठ्यारोमा पार्ने कोसिस भएको गुनासो गरेका थिए। 

पासाङसँगको अन्तरंग छलफलमा प्रचण्डले भनेका थिए, ‘अलि अप्ठ्यारै पारे यार।’

प्रचण्डका सदाबहार सहयोगी
उनी पार्टीभित्रका कुनै पनि नेतासँग टक्कर लिएर असुरक्षित महसुस गराउने भन्दा पनि पार्टी अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने गरी मात्रै सक्रिय हुने पुन निकटहरूको भनाइ छ। 

‘अहिले चुनाव लड्ने, सांसद, मन्त्री बन्ने खालको उहाँको सोच छैन,’ पासाङ निकट एक माओवादी नेताले भने, ‘भइपरी आउँदा प्रचण्डलाई सहयोग गर्दा हुन्छ भनेर हामीले सल्लाह सुझाव दिएका छौँ।’

उसो त उनी प्रचण्डका सदाबहार सहयोगी हुन्। प्रचण्ड माओवादीको लडाकु संगठन जनमुक्ति सेनाको सर्वोच्च कमान्डर हुँदा पासाङ  कमान्डर थिए। 

सशस्त्र युद्धका बेला प्रचण्डको रणनीति अनुसार धेरै ठाउँमा फौजी कारबाही गरी त्यसलाई सफल पार्ने काम पासाङले गर्थे। 

शान्ति प्रक्रियासम्म आएपछि पुन जनमुक्ति सेनाको डेपुटी कमान्डर बनेका थिए। उनीसँगै जनार्दन शर्मा, वर्षमान पुन र चन्द्रप्रकाश खनाल पनि डेपुटी कमान्डर बनेका थिए। 

सेना समायोजन भएपछि २०७० को दोस्रो संविधान सभा चुनावमा पासाङ काठमाडौँ–१० बाट संविधान सभाको चुनाव लडेका थिए। तर, उनी नेपाली कांग्रेसका नेता गगन थापासँग पराजित हुन पुगेका थिए। त्यसपछि उनलाई प्रचण्डले उपराष्ट्रपतिका रूपमा अघि सारे र उनी लगातार दुई कार्यकाल उपराष्ट्रपति समेत बने। 

उपराष्ट्रपति हुँदा पनि प्रचण्डसँग उनको सम्बन्ध समधुर नै रह्यो। २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा प्रचण्ड त्यसको विरोधमा आन्दोलित भएका थिए। 

पासाङले पनि उपराष्ट्रपति हुँदा नै ओली कदमको सार्वजनिक रूपमै विरोध गरेका थिए। ओलीले ‘उपराष्ट्रपतिले राजनीति गर्न खोजेको’ भनेर सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए। 

उपराष्ट्रपतिले भने संविधानको संरक्षकको भूमिका मात्रै निर्वाह गरेका बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad