राजनीति


सरकार आफ्नै कारणले ढल्छ : माओवादी केन्द्र

सरकार आफ्नै कारणले ढल्छ : माओवादी केन्द्र

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १२:२०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो दाबी गरेका हुन्।

‘पहिलाको सरकारले जेजे गरेको थियो, भ्रष्टाचारका विरुद्धमा, सुशासनका पक्षमा, सामाजिक न्यायसहितको समृद्धि भनेको थियो, त्यो एक एक गरी उल्टिँदैछन्। राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ,’ प्रवक्ता सापकोटाले भने, ‘लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको छ। जनजीविकाको सवालमा सरकार चुकिरहेको छ। यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ।’

देशमा राम्रा काम गरिरहेका कर्मचारीहरूलाई हटाउने खेल भइरहेको आरोप लगाउँदै उनले देशमा असाधारण परिस्थिति बन्दै गएको पनि बताए। असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरूको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको जिकिर गरे। 

‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरूलाई हटाउने खेल भइरहेको छ। असाधारण परिस्थिति देशमा बन्दैछ। त्यसको लागि सबै पार्टीहरूको बीचमा एकरुप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहध फुटाउने खालको पनि चर्चा चलिरहेको छ। यी सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरूलाई सत्तामा जानु थियो। जानका लागि उहाँहरूले संविधान संशोधनको कुरा गर्नुभएको थियो,’ सापकोटाले भने।

सरकार राजनीतिक दलहरू फुटाउने चलखेलमा लागिरहेको आरोप समेत प्रवक्ता सापकोटाले लगाए। 

राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाउनु भयो । 

‘हामी अब भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा जनताका अधिकारहरू बढाउने पक्षमा गर्नुपर्छ। अरु कुरा त हामी गर्दै गरौँला। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ। त्यसले मात्रै अहिले देखिएका विकृति, विसंगतिहरू, यो अस्थिरता हट्छ, राजनीतिक स्थायित्व ल्याउन सक्छ भन्ने हाम्रो विचार छ। निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ। सांसदहरू सबै नीति निर्माणमा लागुन्, मन्त्री हुने विज्ञ, विशेषज्ञहरू र जो विज्ञहरू छन् उनीहरूलाई बनाउनुपर्छ। एकपछि अर्को जनहित विपरितमा जाँदैछ, यो सरकार, पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दैछ, यसले अलिकति अधिनायकवादतिर, अलि तानाशाहीतिर जान्छ भन्ने थियो नि, अहिले ठिक त्यस्तै कुरा पुष्टि भइरहेका छन्,’ सापकोटाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad