सत्तारुढ दल नेकपा एमालेले गत कात्तिक २१ गते नेपाली कांग्रेससँग बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको स्पष्टीकरण दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन्।
दुई दलबीच सहकार्य भइरहने वातावरण निर्माणका लागि संयन्त्र बनेको उनको दाबी थियो।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र छ। जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषय पनि उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओलीको चीन भम्रणको तयारीका लागि ओली र देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जिम्मेवारी दिइएको संयन्त्र बनिसकेपछि जारी विज्ञप्तिमा बताइएको थियो।
यद्यपि, सो संयन्त्र प्रधानमन्त्रीको भ्रमणका लागि नबनाइएको उपमहासचिव ज्ञवालीले बताए।
‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन। दुईवटा राजनीतिक दलहरूको बीचमा खासगरी सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ,’ ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘सरकारले त्यसलाई आत्मसाथ गरेको छ। त्यसलाई सहजीकरण गर्ने र दुई दलबीच सहकार्य भइरहने वातावरणका लागि संयन्त्र बनेको हो। तत्कालका लागि महत्त्वपूर्ण एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमण भएकाले त्यहाँ छलफल भयो। तर त्यही भ्रमणका लागि बनाइएको होइन।’
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन्। जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्।
संयन्त्रको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक-एक महिना पालैपालो गर्ने उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया