राजनीति


उपनिर्वाचनका लागि कांग्रेसले तय गर्‍यो ४ उम्मेदवार, बाँकी २५ गतेभित्र टुंगिने

२९ गतेभित्र मनोनयपत्र पठाइसक्ने
उपनिर्वाचनका लागि कांग्रेसले तय गर्‍यो ४ उम्मेदवार, बाँकी २५ गतेभित्र टुंगिने

क्रमश : झलक बहादुर भण्डारी, पासदिकी शेर्पा, इन्द्रा चन्द सिंह र बलराम सरदार


नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार २०:५७, काठमाडौँ

नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उप-निर्वाचनका लागि विभिन्न ४ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ। बाँकी स्थानमा पनि केही दिनभित्रै उम्मेदवारहरू टुंगो लाग्ने नेपाली कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।

स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजन समितिका सदस्यसमेत रहेका विश्वकर्माका अनुसार, कात्तिक २५ गतेभित्र सबै नामहरू टुंगो लाग्नेछ।

त्यस्तै, २९ गतेसम्म सबैलाई मनोनयपत्र पठाइसक्ने पनि बिहीबार साँझ नेपालखबरसँगको कुराकानीमा उनले बताए।

हालसम्म कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो। 

कांग्रेसले ग्रामथानमा गाउँपालिका अध्यक्षका लागि बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको मोरङ संसदीय समितिको आज (बिहीबार) बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मोरङ जिल्ला सभापति डिग बहादुर लिम्बुले जानकारी दिए।

ग्रामथानमा गाउँपालिका अध्यक्षको लागि आंकक्षी रहेका १३ जनाबाट कांग्रेसले सरदारको नाम टुंगो लगाएको हो।

सरदार नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन्। यसअघि कांग्रेसबाटै निर्वाचित जय प्रकाश गच्छदार थारुको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।

यसैगरी, कांग्रेसले दैलेखको महाबु गाउँपालिका अध्यक्षको लागि झलक बहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

जिल्ला सभापति मणिराम रेग्मीका अनुसार अध्यक्षको आकंक्षी रहेका १५ जनामध्येबाट भण्डारीको नाम टुंगो लागेको हो।

कांग्रेसले आजै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवार पनि टुंग्याएको छ। 

कांग्रेस कर्णाली प्रदेश समितिको बिहीबारको बैठकले उपप्रमुखमा इन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

यस्तै, नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकामा पासदिकी शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकामा निर्वाचित श्यामसुन्दर तामाङको ३१ असार २०८० मा ह्रदयरोगका कारण निधन भएको थियो।

उपाध्यक्ष तामाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले उनको श्रीमती पासदिकी शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। कांग्रेस जिल्ला सभापति बर्मा लामाका अनुसार उनको नाम सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाइएको छ।

मंसिर १६ मा जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा गरी विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचन हुन लागेका ४४ मध्ये २७ ठाउँ यसअघि नेपाली कांग्रेसले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad