राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरी हिरासतमा पुगेपछि उक्त पार्टीमा अहिले नेतृत्व, निर्णय र निर्देश कसले गरिरहेको छ भन्ने स्पष्ट छैन। बरू उपसभापति डोलप्रसाद (डीपी) अर्याल केही आफ्नै कारण र केही रास्वपाको उपल्लो तहबाट भइरहेको आशंका एवं निगरानीका कारण विवाद र आलोचनाको भुमरीमा फसेका छन्।
रवि हिरासतमा पुगेपछि पार्टीले सडक प्रदर्शनको बाटो रोज्यो। अदालतको आदेशमा फौजदारी अनुसन्धानका लागि थुनिएका आफ्ना नेतालाई छुटाउन सडकबाट दबाब दिने उसको रणनीति प्रभावकारी हुन सकेन। पोखरा पुगेका नेताहरू साता नबित्दै काठमाडौँ फर्किए। काठमाडौँमा रास्वपाका उपलब्ध नेताहरूको बैठकले दुई उपसभापतिलाई मुख्य दुईवटा मोर्चाको अलगअलग जिम्मेवारी तोक्यो, जसअनुसार उपाध्यक्ष डीपी अर्यालले सडक संघर्षको र अर्का उपाध्यक्ष स्वर्णिम वाग्लेले राजनीतिक संवादको जिम्मा पाए।
तर, त्यो निर्णय भएको केही घण्टामै नेताहरू फरक भूमिकामा देखिए। खासगरी सडकको मोर्चा सम्हाल्नुपर्ने उपाध्यक्ष डीपी अर्याल तिहारको देउसीभैलो सुरू नहुँदै सत्तामा भएका नेताहरूकहाँ राजनीतिक देउसीभैलो गर्न पुगे। उनी नेताहरूकहाँ पुग्नुपर्ने थियो कि थिएन भनेर रास्वपाले नै बहस गर्दै छ। यसबारे उसैले निर्क्योल गर्ला।
तर, उनी त्यसरी सिंहदरबार र बालुवाटारका शक्तिकेन्द्रहरू धाउँदा पार्टीभित्र पैदा भएको कम्पन भने निकै अर्थपूर्ण र आमचासोयुक्त देखिएको छ।
सडकको मोर्चा सम्हाल्ने जिम्मेवारी पाएका नेता डीपी अर्याल रास्वपाको सडक संघर्षका कार्यक्रम तुहाएर राजनीतिक सौदाका लागि सत्ताधारी नेताहरूकहाँ धाउन पुगेको आरोप पार्टीभित्र खेपिरहेका छन्। यति मात्र होइन, उनले परराष्ट्रमन्त्री आरजु राणालाई भेट्नका लागि समय मिलाइदिनुपर्यो भन्दै मोबाइलबाट पठाएको सन्देशको फोटो नै सार्वजनिक भएको छ।
फोटोमा दुवै हातले मोबाइल समातिएको छ। एउटा हातले मोबाइल माथिबाट समातिएको छ र अर्को हातले तलबाट टाइप गरिरहेजस्तो छ। र, त्यो मेसेज कसैलाई देखाउँदै गरेजस्तो पनि देखिन्छ।

सन्देशमा रोमन लिपिमा लेखिएको छ, ‘नमस्ते कमलजी, म डीपी अर्याल। एकपटक मन्त्रीज्यूसँग सर्ट मिटिङ (संक्षिप्त भेट)को टाइम मिलाउनूस् न।’
उक्त मोबाइलमा कमल रावलका नाममा सेभ गरिएको नम्बरमा सन्देश पठाइएको छ। कमल रावल परराष्ट्रमन्त्री आरजु राणा देउवाका सहयोगी हुन्। यस सन्देशमा डीपीले मन्त्री आरजु राणासँग भेट्न खोजेको देखिन्छ।
अब प्रश्न उठ्छ, यो फोटो कसले खिच्यो र कसरी सार्वजनिक भयो त? फोटो हेर्दा डीपीकै मोबाइल खोलेर मेसेज हेर्दै वा पठाउँदै गरेको देखिन्छ। डीपीकै मोबाइलको फोटो खिच्ने मान्छे को हुन सक्छ त? यसको सम्भावना उनका निकै निकट रहेका व्यक्ति नै हुन् भन्ने संकेत मिल्छ। किनभने, उनीसम्म पहुँच नभएको वा उनको मोबाइल हेर्न नपाएको व्यक्तिबाट यो सम्भव छैन।
उनले सामाजिक सञ्जालमा लेखेको टिप्पणीमा उक्त मेसेजको खण्डन गरेका छैनन्। उनले नेताहरूलाई भेटेको र भेट्न खोजेको कुरा स्वीकार गरेका छन्। आफ्नो गोप्य सन्देशमा अनधिकृत पहुँच पुर्याई सार्वजनिक गरेकोमा मात्र उनको आपत्ति छ र कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
‘केही दिनयता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग मैले गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो? यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ। र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ। सभापतिको अनुपस्थितिमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एकपक्षीय ढंगबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु।’
डीपीको यस कुराबाट के बुझिन्छ भने उनी यो फोटो खिच्ने व्यक्तिबारे जानकार छन्। उनले आफ्नै वरिपरिका व्यक्तिले त्यसो गरेको हुन सक्ने संकेत गर्दै यस कार्यलाई एकपक्षीय र गलत मनसायका साथ गरिएको प्रचार भनेका छन्।
यति मात्र होइन, उनले आफूविरुद्ध जासुसी भइरहेको भन्नसमेत भ्याएका छन्।
त्यस्तै उनले मोबाइल सन्देश सार्वजनिक भएकोप्रति लेखेका छन्, ‘बिनाअनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराधसंहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ। मैले मेरो निजी टेलिफोनबाट कोसँग, के-के संवाद गरेँ र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैरकानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वीकृतिबेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयतामाथि दखल पुर्याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्। कानुनी प्रक्रियामा जाने नै छु।’
उनी साँच्चै कानुनी उपचारमा जान्छन् कि जाँदैनन्, अहिले नै भन्न नसकिएला। तर, यो प्रकरण प्रहरीसम्म पुग्यो भने उनले आशंका गरेका व्यक्तिको नाम जाहेरीमा उल्लेख गर्नुपर्नेछ। उनले कसका विरुद्धमा जाहेरी दिन्छन्, त्यसबाट आशंका गरेका व्यक्तिको नाम मात्र सार्वजनिक हुने छैन, रास्वपाको शीर्षासनमै बलिरहेको द्वन्द्वको ज्वालाले पनि नयाँ रूप लिनेछ।
यो त भयो भविष्यको कुरा। तत्कालचाहिँ के निष्कर्षमा पुग्न सकिन्छ भने उनको सक्रियता पार्टीभित्रकै एउटा खेमालाई मन परेको छैन। त्यो असन्तुष्ट खेमा उनको भित्री सूचनामा पहुँच र निगरानी राख्दछ। र, त्यो खेमा रविको अनुपस्थितिमा डीपीलाई नेता मान्न तयार छैन।
Shares

प्रतिक्रिया