प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन्।
मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताए।
उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोसिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए। उनले संविधान र कानुन विपरित असामाजिक र अराजनीतिक क्रियाकलापहरु गर्ने प्रयास भइरहेको बताए।
उनले यस्ता क्रियाकलापहरुलाई मौलाउन नदिने स्पष्ट पारे। उनले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको बताए। उनले सो कानून संसदको आगामी अधिवेशनमा अगाडी बढाइने बताए।
उनले भने, ‘यतिबेला अनेक प्रकारका शक्तिहरु, नेपाली मनलाई विभाजित गर्न खोज्नेहरु, भुमी त विभाजित गर्न सक्दैनन्। त्यो भन्दा अगाडी नेपाली मनलाई विभिन्न नाममा नेपाली मनहरुलाई विभाजित गर्ने। साम्प्रदायिक विद्वेष अथवा अरु प्रकारका क्रियाकलापहरु अराजकता, संविधान विपरितका क्रियाकलापहरु र कानून विपरितका क्रियाकलापहरु, असामाजिक क्रियाकलापहरु, अराजकता मच्चाउने खालका क्रियाकलाप र प्रयासहरु भइरहेका छन्। म प्रधानमन्त्रीको हिसाबले भन्न चाहन्छु, ति कुराहरुलाई हामीले कुनै पनि हालतमा यस्ता असामाजिक क्रियाकलापहरुलाई मौलाउन, फस्टाउन पनि दिँदैनौँ।’
उनले नयाँ कानूनमार्फत सशस्त्र प्रहरी बल नेपालको ३० वर्षे सेवा अवधि हटाइने पनि बताए।
Shares

प्रतिक्रिया