आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ। देशभर विभिन्न ४० पदमा लागि उपचुनाव हुँदा कीर्तिपुरमा भने मेयर र २ जना वडाध्यक्ष चुन्नुपर्ने छ।
मिर्गौला रोगबाट पीडित मेयर राजकुमार नकर्मीको २०८१ साउन ११ गते निधन भएको थियो। त्यस्तै क्यान्सरपीडित वडा नं. १ वडाध्यक्ष हिरालाल महर्जनको २०८० फागुनमा निधन भएको थियो। मोटरसाइकल दुर्घटनामा परी वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएको थियो।
अर्को चुनाव हुन अझै एक वर्षभन्दा बढी समय भएकाले रिक्त स्थानमा निर्वाचन आयोगले उपचुनाव गराउन लागेको हो।
उपचुनावका लागि प्रमुख दलहरू तयारी थालिसकेका छन्। दलहरूले अहिले तल्ला तहका समितिबाट आकांक्षीहरूको पहिचान थालेका छन्।
सबैभन्दा ठूलो दल एवं यसअघिको चुनावमा मेयर जितेको नेपाली कांग्रेसले तल्लो तहमा उम्मेदवारको छनोट गर्दैछ। कार्तिक २० गतेसम्ममा नाम पठाउने तयारी रहेको नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए।
‘उम्मेदवारको छनौट तल्लो तहमा हुँदैछ,’ उनले भने, ‘केन्द्रले कार्तिक २० गतेसम्म टुंग्याएर केन्द्रमा पठाउनु भनेको छ। धेरै आकांक्षी छन्, हामीले सकभर नगरबाटै सर्वसम्मत गरेर ल्याउनुहोस् भनेका छौँ। एकआपसमा द्वन्द्व नहुने, सबैले स्वीकार गर्ने किसिमले ल्याउनुहोस् भनेका छौँ।’
नेकपा एमालेले पनि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ। तिहारपछि नाम टुंगो लागि सक्ने एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला बताउँछन्।
‘उम्मेदवार सिफारिस प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘तिहारपछि उम्मेदवारको सिफारिस प्रक्रिया अगाडि बढ्छ।’
माओवादी केन्द्रले पनि मेयर र वडाध्यक्षका लागि नाम सिफारिस प्रक्रिया अगाडि बढाएको छ। माओवादीको कीर्तिपुर नगरपालिका समिति अध्यक्ष दिलबहादुर महर्जनका अनुसार कार्तिक २४ गतेसम्म नाम प्रदेश समितिमा पठाउने तयारी छ।
‘उम्मेदवार सिफारिसको तयारी भइरहेको छ,’ उनले भने, ‘अहिले छलफल भइरहेको छ। २४ गतेभित्र प्रदेश समितिमा नाम सिफारिस गर्नुपर्ने भन्ने छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले भने चुनावबारे प्रतिवेदन तयार पारिरहेको छ। शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सहमहामन्त्री विपिन आचार्यलाई चुनावबारे ३ दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो।
प्रतिवेदन आएपछि मात्रै कीर्तिपुरको चुनावमा भाग लिने या नलिने भन्नेबारे टुंगो लाग्ने रास्वपा काठमाडौँका जिल्ला सभापति प्रदीप बिष्टले जानकारी दिए।
‘हामीले पालिका चुनावमा भाग लिने त भनेका थियौँ, तर कहाँ–कहाँ लिन्छौँ भन्ने कुरा स्पष्ट छैन,’ उनले भने, ‘हामी ३ दिनभित्र रिपोर्ट ल्याउँछौँ। त्यसपछि मात्रै कुन ठाउँको चुनावमा भाग लिन्छौँ, कुन ठाउँमा भाग लिँदैनौँ भन्ने टुंगिन्छ।’
यद्यपि, र्कीतिपुरका हकमा भने सबै वडामा समिति गठन भइसकेको र नगरभित्र झण्डै ३ सय क्रियाशील सदस्य समेत भएकाले चुनावमा जान आफूहरू तयार नै रहेको उनको भनाइ छ।
मेयरका आकांक्षीहरू
नेपाली कांग्रेको कीर्तिपुर नगर समिति सभापति कृष्णमान डंगोलका अनुसार इकाइ कमिटी तहमा उम्मेदवारबारे छलफल भइसकेको छ। तर, कुनै पनि नाम टुंगिएको छैन।
तर, मेयरका मुख्य आकांक्षीहरू भने खुलेर आएका छन्। डंगोल आफैँ पनि मेयरका लागि आकांक्षी छन्। पूर्व नगर सभापति बद्रीलाल महर्जन र जिल्ला सदस्य हिमाल कार्की पनि आकांक्षी हुन्।
एमालेमा प्रमुख आकांक्षीका रूपमा केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र न. १० का इन्चार्ज सुरेन्द्र मानन्धर, अघिल्लो चुनावमा पनि मेयरको चुनाव लडेका केशरत्न ब्रजाचार्य र पूर्वमेयर रमेश महर्जन अगाडि आएका छन्।
एमाले स्रोतका अनुसार मानन्धरलाई मेयरको उम्मेदवारका रूपमा अगाडि सारिने सम्भावना छ।
‘उहाँ पार्टीको केन्द्रीय सदस्य पनि भएको र बौद्धिक छवि पनि भएकाले उहाँको सम्भावना धेरै छ,’ नेकपा एमालेका एक स्थानीय नेताले भने।
माओवादी नगर कमिटी अध्यक्ष महर्जनका अनुसार मेयरका लागि ५ जनाले आकांक्षा देखाएका छन्। केन्द्रीय सदस्य विष्णु नारायण, काठमाडौँ क्षेत्र नं. १० का सचिव बैकुण्ठ महर्जन, नगर समिति उपाध्यक्ष रामकुमार खड्का, केन्द्रीय सदस्य धनबहादुर महर्जन र जिल्ला समिति सदस्य लक्ष्मी केसीले आफ्नो दाबेदारी पेस गरेका छन्।
रास्वपामा भने चुनाबारे प्रतिवदेन आएपछि मात्रै आकांक्षीको टुंगो लाग्ने छ।
ठूला दलबीच गठबन्धन नहुने, ‘मिनी गठबन्धन’को प्रयासमा माओवादी
यो चुनावमा कम्तीमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला दलबीच आपसमा गठबन्धन नहुने भएको छ।
तर, माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग गठबन्धन गर्ने तयारी गरिरहेको छ। चुनावलाई लिएर अलमलमा रहेको रास्वपालाई पनि माओवादीले फकाइरहेको छ।
अघिल्लो चुनावको मत परिणाम केलाउँदा नेपाली कांग्रेस निकै बलियो, नेकपा एमाले र माओवादी केन्द्र हाराहारीका शक्ति हुन्। रास्वपाको भने परीक्षण हुनै बाँकी छ।
२०७९ को चुनावमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए। एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए भने माओवादीका शिवशरण मर्हनले ४०९० मत ल्याएका थिए।
चौथो बनेको एकीकृत समाजवादीका बटुकृष्ण थापाले ११५३ मत ल्याएका थिए।
कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो। बाँकी १ वडामा पनि एमाले वा माओवादी होइन, स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।
रास्वपा जिल्ला अध्यक्ष विष्ट संघीय चुनावमा कीर्तिपुर नगर क्षेत्रबाट आफ्नो पार्टीले ४६०० मत पाएकाले कांग्रेसपछि शक्तिशाली दल रास्वपा भएको दाबी गर्छन्। बिष्ट आफैँ काठमाडौँ–१० को उम्मेदवार थिए। उनले उक्त क्षेत्रबाट ८ हजार ७ सय ३९ मत पाएका थिए।
तर, संघीय चुनाव र स्थानीय चुनावको मतको प्रवृत्ति भने मिल्ने गरेको छैन।
नेपाली कांग्रेसका जिल्ला सभापति बानियाँले आफूहरू उक्त क्षेत्रमा बलियो भएकाले कुनै पनि पार्टीसँग तालमेल गर्न आवश्यक नरहेको बताए। एमाले जिल्ला अध्यक्ष निरौलाले पनि आफूहरू कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारे।
‘मिनी गठबन्धन’को तयारीमा रहेको माओवादी लोकप्रिय उम्मेदवारको खोजीमा छ। माओवादीका नगर अध्यक्ष महर्जनले भने, ‘राम्रो भेटिए छ भने हामी अहिले आकांक्षा देखाएका भन्दा नयाँ उम्मेदवार पनि तय गर्न सक्छौँ।’
समाजवादी मोर्चामा रहेका दलहरू यो चुनावमा सँगै जाने तयारीमा रहेको समेत उलने जानकारी दिए।
महर्जनले भने, ‘अहिले हाम्रो समाजवादी मोर्चा छ, मोर्चामा विप्लव, जसपा र एकीकृत समाजवादी छ। टिम बनाएर जाने भन्ने कुरा छ हाम्रो।’
रास्वपासँग पनि मिलेर जाने कुरामा छलफल भइरहेको भन्दै उनले बदलिएको परिस्थितिमा कांग्रेसले पहिलेको जस्तो मत नपाउने भएकाले आफूहरू यसपालिको चुनावमा बलियो प्रतिस्पर्धी भएको दाबी गरे।
रास्वपाको समेत सहयोग लिनेबारे महर्जनले भने, ‘उहाँहरूसँग छलफल गरिरहेका छौँ। उहाँहरू जोडिए ९० प्रतिशत जित्ने सम्भावना हाम्रै हुन्छ।’
Shares

प्रतिक्रिया