ग्लोबल


उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको ‘निराशा’को संकेत

उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको ‘निराशा’को संकेत

रासस/एएफपी
कात्तिक १२, २०८१ सोमबार २०:४५, ब्रसेल्स

नाटोका प्रमुख मार्क रुटेले सोमबार युक्रेनमा रुसको युद्ध प्रयासलाई बलियो बनाउन उत्तर कोरियाली सैनिकको तैनाथीलाई द्वन्द्वको खतरनाक विस्तार भनेका छन्। 

उनले यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बढ्दो निराशा’ लाई संकेत गरेको बताए। 

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उनले उत्तर कोरियाली सैन्य एकाइ रुसको पश्चिमी कुर्स्क क्षेत्रमा पठाइएको पुष्टि गर्न सकिने बताए। 

“रुस र उत्तर कोरियाबीचको बढ्दो सैन्य सहयोग इन्डो–प्यासिफिक र युरो-एटलान्टिक दुवै सुरक्षाका लागि खतरा हो”, रुटेले पत्रकार सम्मेलनमा भने, “कुर्स्कमा उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको बढ्दो निराशाको संकेत पनि हो।”

युक्रेनी सेनाले अगस्टदेखि कुर्स्कमा स्थल आक्रमण गरिरहेको छ र रुसी भूभागको केही सय वर्गकिलोमिटर नियन्त्रणमा लिएको छ। 

रुटेका अनुसार द्वन्द्व सुरु भएयता ६ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ। 

पुटिनले पश्चिम विरोधी गठबन्धन निर्माण गर्ने प्रयास जारी राखेकाले मस्को र प्योङयाङबीच बढ्दो सैन्य सम्बन्ध अमेरिका र युरोपेली संघ (ईयू) का लागि ठूलो चिन्ताको विषय हो। 

गत हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले केही दिनभित्रै उत्तर कोरियाली सैनिकहरूलाई युद्धमा पठाउने योजना बनाएको चेतावनी दिएsf थिए। उनले उत्तर कोरियाले रुसलाई समर्थन गर्न १० हजार सैनिक तालिम दिइरहेको दाबी गरेका छन्। 

दक्षिण कोरिया, नाटो र संयुक्त राज्य अमेरिकाले पनि हजारौँ उत्तर कोरियाली सैनिक रुसमा तालिम लिइरहेको दाबी गरेका छन्। 

यसै महिना नाटोको नेतृत्व सम्हाल्नुभएका पूर्व डच प्रधानमन्त्री रुटेले मस्को र प्योङयाङलाई ‘यी कार्यहरू तत्काल रोक्न’ आह्वान गरे। 

अस्ट्रेलिया, जापान, न्युजिल्यान्डलगायत नाटोका इन्डो-प्यासिफिक साझेदारहरूलाई पनि स्थितिबारे जानकारी गराइएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad