राजनीति


तरुणलाई भट्टराईको प्रश्न- पार्टीको पक्षमा स्टाटस लेख्न किन गाह्रो?

तरुणलाई भट्टराईको प्रश्न- पार्टीको पक्षमा स्टाटस लेख्न किन गाह्रो?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार २०:१८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि कांग्रेसका तरणहरू भने अभ्यस्त नभएको गुनासो गरेका छन्। 

तनहुँको दमौलीमा नेपाल तरुण दल जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय महासचिवसमेत रहेका भट्टराईले भने, ‘हामीले आफ्नाले गरेको राम्रो कामको पनि प्रचार गर्न सकेनौँ। अरुले गर्नै नसक्ने कुराको प्रचार गरेर चुनाव जिते।’

सामाजिक सञ्जालको प्रयोग सही ढंगबाट गर्न तरुणहरू चुक्नुको परिणाम कतिपय ठाउँमा कांग्रेसले चुनावी हार भोग्नुपरेको औंल्याउँदै उनले भने, ‘किन नेतृत्वको राम्रो प्रचार नगर्ने? पार्टीको पक्षमा स्टाटस लेख्न हामीलाई किन गाह्रो छ?’

बीपी कोइरालाको निर्देशनमा २०१० कार्तिकमा स्थापना भएको दलप्रति बीपी कोइरालाको ठूलो भरोसा पनि रहेको भन्दै तर अहिले दलले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरे।

‘दोस्रो महासचिव थिएँ,’ उनले भने, ‘राम्रोसँग सञ्चालन गर्न पाएको भए वैचारिक संगठनको रुपमा रुपान्तरण गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो। तर आज हाम्रो संगठनको अवस्था देख्दा केही नपुगेको जस्तो लागेको छ। श्रीमतिको पनि भोट हाल्न नसक्ने संगठनले कसरी काम गर्ला?’

तनहुँमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेसँग पराजित भट्टराईले विकासको कामले मात्र चुनाव जित्ने अवस्था नभएको भन्दै क्रियाशिल सदस्यले परिवारको समेत मत तान्न नसकेको गुनासो गरे। 

क्रियाशिल भनेको सधैँ सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए। 

‘व्यास नगरपालिकामा क्रियाशिलले ३ भोट पनि तान्न सकेनन्। घण्टीको असर परेको देवघाटले तानेको जति भोट यहाँ किन तान्न सकिएन?’, उनले भने, ‘क्रियाशिलले श्रीमतिको भोट पनि किन पार्टीमा तान्न सकेनौँ, समीक्षा हुनुपर्छ। नेपाललाई भुटान बनाउनुपर्छ भन्दा हामी किन प्रतिकार गर्दैनौं?’

केन्द्रीय सदस्य भट्टराईले विपक्षीका गलत कामको प्रतिवाद हुन नसक्दा कांग्रेसले गरेका काम ओझेलमा परेको र उनीहरू हावी भएको दाबी गरे।

‘कोही सानो देशको अन्डरमा बस्नुपर्छ भन्छन् भुटानको स्टाटसमा राख्नुपर्छ भन्छन्’, उनले भने, ‘तर त्यसको प्रतिकार हामी गर्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad