राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको भेटमा प्रचण्डले भने- धेरै सिक्न चाहेका छौँ

चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको भेटमा प्रचण्डले भने- धेरै सिक्न चाहेका छौँ

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार २०:१, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए।

अध्यक्ष प्रचण्डले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन समेत व्यक्त गरे। 

उनले सन् २०१९ मा चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सीमा नाका प्रभावकारी रूपमा सञ्चालन, रेलमार्ग निर्माण प्रक्रिया अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्यका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताएका थिए।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छन् गाङले दुई देशबीचको मित्रता थप विस्तार गर्नुपर्नेमा जोड दिए। पहिलोपटक नेपाल भ्रमणमा आएका उनले चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएकाले सोहीअनुसार सरकार र पार्टीहरूबीचको सम्बन्धलाई महत्व दिने गरेको उल्लेख गरे।

भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो।

चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सेक्रेटरी छेन्, नेपालस्थित चिनियाँ राजदूत छन् सोङलगायतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad