राजनीति


प्रदेश संरचनामा जाने अर्बौं रुपैयाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ : चित्रबहादुर

प्रदेश संरचनामा जाने अर्बौं रुपैयाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ : चित्रबहादुर

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार २१:५९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर संघीयता खारेज गर्नुपर्ने बताएका छन्।

बिहीबार अर्घाखाँचीको रानीगैरामा राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।

उनले सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरिरहेको उल्लेख गर्दै संविधान संशोधन मार्फत संघीयता खारेज गर्नुपर्ने बताए।

संघीयता अन्तर्गतका प्रदेश संरचना पाल्ने खर्चले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने केसीको भनाई थियो।

‘प्रदेश संरचना पाल्न वार्षिक ४ अर्ब रुपैयाँ राज्यकोषबाट खर्च हुने गरेको छ। त्यो रकमले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ’ केसीले भने, ‘संविधान संशोधनमार्फत संघीयता खारेज गरे त्यसलाई हामी स्वागत गर्नेछौँ।’

अध्यक्ष केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संघीयता खारेजीको कुरा उठाइरहेको उल्लेख गर्दै उसले राजतन्त्र पुनर्स्थापना गर्न संघीयता खारेजीको कुरा गरेको स्पष्ट पारे। तर आफ्नो दलले गणतन्त्र सुदृढीकरण गर्न लगातार संघर्ष गरिरहेको उनको भनाई छ।

केसीले आगामी चैत २४ गतेदेखि राजधानी केन्द्रित संघीयता खारेजीको आन्दोलन गर्न लागेको जानकारी दिँदै सो कार्याक्रम सफल पार्न आह्वान पनि गरे।

फरक प्रशंगमा अध्यक्ष केसीले नयाँ पुस्तालाई नेपालमा केही हुँदैन भनेर सानैदेखि सिकाइने गरिएको र विदेश जाने वातावरण बनाइरहेको भन्दै राष्ट्रियता जोगाउन युवाहरूलाई देशमै रोक्नुपर्ने बताए।

रास्वपा होइन, जनमोर्चा वैकल्पिक शक्ति : महासचिव भट्ट
कार्यक्रमलाई सम्बोधन गर्दै जनमोर्चाका महासचिव मनोज भट्टले जनताले विकल्प खोजिरहेको भन्दै संसदवादी दलहरूको विकल्पमा राष्ट्रिय जनमोर्चा वैकल्पिक शक्ति भएको जिकीर गरे।
उनले पुराना दलको लिकमा हिँड्ने रवि लामिछानेको पार्टी वैकल्पिक शक्ति हुन नसक्ने बताए।

‘रास्वपा पुराना दलहरूको लिकमा हिँड्ने पार्टी हो, त्यो वैकल्पिक शक्ति हुन सक्दैन’ भट्टले भने, ‘संसदवादी दलको विकल्प राष्ट्रिय जनमोर्चा हो।’

महासचिव भट्टले गणतन्त्र आएको १८ वर्षमा १९ वटा सरकार परिवर्तन भएको तथ्यांक पेश गर्दै कुनैपनि सरकारले महंगी, भ्रष्टाचार र बेरोजगारी अन्त्य गर्न पहल नगरेको बरु सत्ताकेन्द्रित राजनीति मात्रै गरेको आरोप लगाए। सोही कारण जनतामा वितृष्णा र निराशा पैदा भएको उनको भनाई थियो।

भट्टले गणतन्त्रका विकल्प राजतन्त्र नहुने र बहुदलीय व्यवस्थाको विकल्प निर्दलीय व्यवस्था पनि हुन नसक्ने स्पष्ट पार्दै नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने अवस्था नभएसम्म वर्तमानमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सन्धिखर्क नगरपालिकाका मेयर झविलाल थापा, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल महिला संघका महासचिव सकुन्तला राना, राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर विसी, अर्घाखाँचीका अध्यक्ष थमन केसीलगायतले बोलेका थिए।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशीला गीत र नृत्य प्रस्तुुत गरेका थिए।

राष्ट्रिय जनमोर्चाले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन रानीगैरामा जनसभा आयोजना गर्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad