सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडामा बस्दै आएको बताए।
च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई-तीनपटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय भएको उनले बताए।
शुक्रबार १२:२५ मा कीर्तिपुर नगरपालिका-२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्यास हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए।
उनले भने, ‘२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको हाम्रो पार्टी केन्द्रिय कार्यालय ध्वस्त भयो। त्यसयताका ९ वर्ष हामी विभिन्न ठाउँमा भाडाका भवनहरुमा बस्दै आएका छौँ। यस पटक यहाँ पनि हामीले दुई, तीन पटक बाढीको सामना गर्नुपर्यो। यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेका छौँ। भोलि १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयको शिलान्यास हुनेछ।’
ओलीले शुक्रबार गर्दैछन् एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शिलान्यास

त्यस्तै बैठकले विपद्पछिको पुनःनिर्माण, पुनःस्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता-कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ।
समाजमा निराशा, हतास मनःस्थिति, नकारात्मक विद्वेष फैल्याउने प्रवृत्तिहरू छिटपुट देखापरेकाले देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय भएको बताए।
बैठकले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरुले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाइसक्न आह्वान गरेको छ।
उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रुपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरुप तयारी गर्न आह्वान गरेको बताए।
पार्टीले वडा दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ। पार्टीले केन्द्रीय सदस्य रामश्रवण बस्नेत र भीम केसीकी आमाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गरेको छ।
Shares

प्रतिक्रिया