ad ad

राजनीति


विपद् प्रभावितहरू पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छ : गृहमन्त्री

विपद् प्रभावितहरू पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छ : गृहमन्त्री

नेपालखबर
असोज १९, २०८१ शनिबार २०:१६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन्।

शनिबार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरुको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताएका हुन्। 

उनले त्यसको लागि स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए।

‘हामी अहिले विपद्को अवस्थामा छौँ, धेरै पीडा छ। अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको छ। अहिले जुन जनधनको क्षति भएको छ, त्यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। हामीले मृतकका परिवारलाई क्षतिपूर्ति भन्न त मिल्दैन। किनभने मृत्युको क्षतिपूर्ति हुँदै हुँदैन,’ उनले भने, ‘हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेका छौँ। चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको छ। तदनुरुप राहत दिने काम भइरहेको छ।’

अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको बताउँदै उनले विपद्‌बाट मृत्यु भएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेको जिकिर गरे। 

उनले उद्धार, राहत, पुनःनिर्माण, पुनस्र्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको पनि बताए।

‘घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेका छौँ। ज्यादा नोक्सानी भएका ठाउँहरूमा विपद्बाट भएका नोक्सानीको संकटग्रस्त क्षेत्र भनेर तोकेका छौँ। त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ। उद्धार, राहत, पुनःनिर्माण, पुनस्र्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको छ,’ उनले भने,‘म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउन सक्छौँ।’

प्रसव पीडामा परेको महिला र ज्यान जोखिममा परेका ग्रामिण भेगका नागरिकको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धारको माग राखि भदौ २१ गतेदेखि सिलवाल आमरण अनसन बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .