ad ad

राजनीति


चणिकलाललाई सम्मान गर्दै प्रचण्डले भने- सरकारले गर्न नसकेको काम गरेकामा धन्यवाद

चणिकलाललाई सम्मान गर्दै प्रचण्डले भने- सरकारले गर्न नसकेको काम गरेकामा धन्यवाद

नेपालखबर
असोज १३, २०८१ आइतबार १६:४, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवक’ चणिकलाल तामाङलाई सम्मान गरेका छन्। उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन्। 

तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका-२५, सुगमटोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए। टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए। 

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएपछि तामाङले उद्धारका लागि उर्लँदो भेलमा हाम फालेका थिए।

सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर बाँच्न सफल भएका थिए। राजकी छोरी ४ वर्षीया सेतु साहको अवस्था अज्ञात छ।

तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए।

संकटका बेला नै बहादुरहरूको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए।

आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशविदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुसी लागेको बताए।

काभ्रेको तेमाल गाउँपालिका-९, चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्ड सचिवालयका अनुसार, उनका दाइ तत्कालीन लडाकु कमाण्डर चन्द्र तामाङ ‘शुक्र’ को ज्यान गएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .