ad ad

राजनीति


रवीन्द्र मिश्रको प्रशंसाले लठ्ठिएपछि लत्रियो प्रचण्डको गणतन्त्रको ‘कसिलो मुठ्ठी’

रवीन्द्र मिश्रको प्रशंसाले लठ्ठिएपछि लत्रियो प्रचण्डको गणतन्त्रको ‘कसिलो मुठ्ठी’

सीताराम बराल
असोज १०, २०८१ बिहिबार १९:२०, काठमाडौँ

राजनीतिमा कहिलेकाहीँ ‘एक जोड एक’को योगफल ‘दुई’ को साटो ‘शून्य’ पनि हुनसक्छ। ‘राजनीतिक जलवायु विज्ञान’मा पनि कहिलेकाहीँ यस्तै हुँदो रहेछ। चिसिन्छ दुई नेताबीचको सम्बन्ध, तर चिसो सम्बन्धले राजनीतिक वातावरणलाई तताइदिन्छ। तातो राजनीतिक वातावरणले नेताहरूबीचको सम्बन्धमा चिसोपना पनि ल्याइदिन सक्छ। 

राजतन्त्रवादी राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसँग गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार (८ असोज) बिहान खुमलटारस्थित निवासमा करिब एक घण्टा भेटवार्ता गरे। 

माओवादीकै नेता–कार्यकर्ताले प्रचण्ड निवासको भुइँतलाको बैठक कोठा नाघ्न पाउँदैनन्। मिश्रलाई भने प्रचण्डले निकै स्नेहका साथ उपल्लो तलाको कौसीसम्म पुर्‍याए। कालो चिया पिउँदै दुवै नेता गफिए। 
  

साढे आठदेखि सुरु भएको भेटवार्ता एक घण्टा लम्बियो। भेटघाट सकेर निवास फर्केपछि मिश्रले भेटवार्ताको तस्बिर र विवरण बिहान ११ः११ बजे फेसबुकमार्फत् सार्वजनिक गरे। 

तस्बिरले बताउँछ, गणतन्त्रवादी प्रचण्ड र राजतन्त्रवादी मिश्रबीचको भेटवार्ता भने न्यानो थियो। प्रचण्डका धारणालाई सात बुँदामा समेटेर मिश्रले सामाजिक सञ्जालबाट ‘खुलासा’ गरेपछि न्यानो भेटघाटको २४ घण्टा नपुग्दै दुईबीचको सम्बन्ध चिसिन पुगेको छ।   

प्रचण्डसँगको भेटपछि मिश्रले दाबी गरेअनुसार गणतन्त्र स्थापनाप्रति प्रचण्डमा पश्चाताप सुरु भएजस्तो देखिन्थ्यो। मिश्रले यस्तो दाबी गरेपछि प्रचण्ड अप्ठेरोमा परे। भोलिपल्टै आफ्नो सचिवालयमार्फत् प्रचण्डले मिश्रको दाबीको खण्डन गरे।

‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो, शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत् मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ,’ प्रचण्डले बुधबार (९ असोज) बिहान सचिवालयमार्फत् भन्न लगाए, ‘उहाँ (प्रचण्ड) का विचार भनेर मिश्रजीले समय–सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

‘पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र गएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र मिश्रजी?’ प्रश्नसहित प्रचण्डको सचिवालयले मिश्रसँग आग्रह पनि गर्‍यो, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि!’ 

मिश्रलाई पनि ‘प्रचण्ड निकै रिसाएछन्’ भन्ने लाग्यो होला, प्रचण्डको सचिवालयको उपरोक्त भनाइलाई उनले पनि जस्ताको तस्तै आफ्नो फेसबुकमा पोस्ट गरेका छन्। 

‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ, हामीबीचमा रहोस्’ भनिएका कुरा कहिल्यै पनि सार्वजनिक गर्दिनँ,’ प्रचण्डको सचिवालयको भनाइ जस्ताको तस्तै आफ्नो फेसबुकमा पोस्ट गर्नेक्रममा मिश्रले यो पनि लेखेका छन्, ‘हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।’

बाबुरामले ब्युँझाइदिएका प्रचण्ड
मिश्रका भनाइमा मंगलबार बिहान भएको भेटवार्तामा प्रचण्डले सात विषय उल्लेख गरेका थिए। तिनमा ‘अहिलेको स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको’, ‘उद्योगधन्दाको स्थिति अहिलेभन्दा पञ्चायतकालमा राम्रो रहेको निष्कर्षमा आफू पुगेको’ भन्ने थिए।  

तेस्रोपटक प्रधानमन्त्री हुँदा प्रचण्डलाई उद्योगधन्दाहरूको स्थितिबारे विवरण प्राप्त भएको रहेछ। सो विवरणका आधारमा प्रचण्डले ‘पञ्चायतकालमा उद्योगधन्दाको स्थिति अहिलेभन्दा राम्रो रहेको’ निष्कर्ष निकालेका रहेछन्। 

त्यसै आधारमा मिश्रसँग ‘राजा महेन्द्र त गजबका भिजनरी राजा पो रहेछन्’ भनेका पनि रहेछन्। 

‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाबारे पुरै नकारात्मक थिए,’ मिश्रको दाबी अनुसार, प्रचण्डले मिश्रसँग यो पनि भनेका (तेस्रो बुँदा) थिए, ‘म त देशको हित हुन्छ भने राजासँग मिलेर गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’

‘राजा ज्ञानेन्द्रले पनि २०६२–६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो,’ प्रचण्डले भनेका कुरालाई चौथो र पाँचौँ  बुँदामा मिश्रले यसरी समेटेका छन्, ‘देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।’

छैटौँ बुँदामा समेटिएका प्रचण्डको भनाइ पनि रोचक नै छ। 

‘अहिले पो प्रधानमन्त्री भएँ, युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो,’ प्रचण्डको भनाइ रहेछ, ‘अहिले पनि मेरो भावना देश बनाउनुपर्छ भन्ने नै हो। तर, अब यसरी चाहिँ हुँदैन।’ 

‘म अहिले नै तपाईंको विचार (राजतन्त्र फर्काउने) सँग सहमत हुने स्थितिमा त पुगेको छैन,’ प्रचण्डसँगको कुराकानीलाई सातौँ बुँदामा उधृत गर्दै मिश्रले लेखेका छन्, ‘तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। निरन्तरतामा क्रमभंग आवश्यक भइसक्यो।’ 

प्रचण्डसँगको भेटलगत्तै उपरोक्त सात बुँदे पोस्टमार्फत् प्रचण्डबारे मिश्रले दिन खोजेको मूलसन्देश हो, ‘त्यत्रो दुःख गरेर गणतन्त्र ल्याएका प्रचण्ड नै अहिले भित्रभित्रै पश्चाताप गर्ने अवस्थामा पुगेका छन्।’ 

‘निरन्तरतामा क्रमभंग आवश्यक भइसक्यो’ भन्ने भनाइलाई मिश्रले प्रचण्ड राजतन्त्र फर्काउने अवस्थामा नपुग्लान् भन्न सकिन्न भन्ने अर्थ लगाउन खोजेजस्तो देखिन्छ। 

तर, बुझ्नुपर्ने कुरा के हो भने, ‘निरन्तरतामा क्रमभंग’ भन्ने प्रचण्डको शब्दावलीले उनलाई राजतन्त्रतिर फर्काउने बाटोतिर मोड्दैन, न त प्रचण्डले चाहेर नै अब राजतन्त्र फर्कन सक्छ। यदि प्रचण्डले ‘निरन्तरताबाट पछि फर्कन आवश्यक भइसक्यो’ भनेका भए मात्र उनी पुरानै (राजतन्त्रात्मक) व्यवस्थातिर फर्कने बारेमा सोच्न थालेका रहेछन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ।   

मिश्रले त्यति गम्भीर (नकारात्मक) सन्देश प्रवाह गर्दासमेत प्रचण्ड भने मिश्रले केही दिनअघिदेखि गर्दै आएको आफ्नो ‘प्रशंसा’मा रमाएर बसिरहे। प्रशंसाका साथ मिश्रले प्रवाह गर्न खोजेको सन्देश आफ्नो राजनीतिक करिअरका लागि कति घातक छ भन्ने ठम्याउन उनले सकेनन्।  

पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले मंगलबार साँझ फेसबुक र एक्स मार्फत् त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेपछि मात्र प्रचण्डको चेत खुलेको देखिन्छ।  

जनयुद्धलाई कसरी सफल बनाउने भन्ने कार्यनीतिक विषयमा प्रचण्ड र डा. भट्टराईबीच २०६०–०६१ पछि मतभिन्नता सुरु भएको थियो। 

जनयुद्धलाई निष्कर्षमा पुर्‍याउन डा. भट्टराई भारत र संसदवादी राजनीतिक दलहरूसँग मिलेर अघि बढ्नुपर्छ भन्ने मत राख्थे। यसका विपरीत प्रचण्ड ‘दरबार माओवादीप्रति नरम हुन्छ भने राजासँग मिलेर जाँदा पनि फरक पर्दैन’ भन्ने धारणा राख्थे। 

प्रचण्डको जोड ‘राष्ट्रवाद’ र डा. भट्टराईको जोड ‘लोकतन्त्र’प्रति हुनु नै यो मतभिन्नताको कारण थियो। 

यही मतभिन्नताका कारण प्रचण्ड बेलाबेला डा. भट्टराईलाई ‘भारतपरस्त’ आरोप लगाउँथे। डा. भट्टराई चाहिँ प्रचण्डलाई ‘दरबारपरस्त’ को बिल्ला भिराउँथे।  

यो प्रकरणको रोचक पक्षचाहिँ के हो भने ‘भारतपरस्त’ भनिएका डा. भट्टराई नै अहिले भारतका सबैभन्दा तार्किक आलोचक हुन्। प्रचण्डले चाहिँ राजावादीहरूबाटै सबैभन्दा बढी प्रहार खेपिरहेका छन्।

राजा ज्ञानेन्द्रको १९ माघ (२०६१) को ‘कू’ पछि भने डा. भट्टराईको धारणा वस्तुवादी देखियो। त्यसैबमोजिम सशस्त्र माओवादी र सात संसदवादी दलबीच १२ बुँदे सहमति भयो। त्यसले संयुक्त जनआन्दोलनको खाका कोर्‍यो। त्यही संयुक्त जनआन्दोलनले राजतन्त्रलाई धरासायी बनायो। 

जसरी मौका आउँदा प्रचण्ड अहिले पनि डा. भट्टराईलाई ‘भारतपरस्त’ भन्न चुक्दैनन्, डा. भट्टराई पनि प्रचण्डलाई ‘दरबारपरस्त’ करार गर्न अप्ठेरो मान्दैनन्। 

प्रचण्डलाई फेरि ‘दरबारपरस्त’ करार गर्न मिश्रको फेसबुक पोस्ट डा. भट्टराईलाई उपयोगी सिद्ध भयो। मसालका नेता चित्रबहादुर केसीले सुनाउने लोकोक्ति सापटी लिँदै उनले प्रचण्ड–मिश्र भेटवार्ताको साँझ नै प्रचण्डमाथि कटाक्ष गरिहाले। 

‘बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो,’ मंगलबार राति भट्टराईले सामाजिक सञ्जाल फेसबुक र एक्समा लेखे, ‘तर, माओवादी आन्दोलनभित्रको भीषण अन्तर्संघर्ष देखिजान्ने सबैलाई थाहा छ, अहिले बिरालो म्याउँ’ गरेकै हो। किनकि प्रचण्डको वास्तविकता त्यही हो।’ 

डा. भट्टराईले मंगलबार (८ असोज) राति ९ः२७ बजे फेसबुकमा उपरोक्त पोस्ट गरेका थिए। डा. भट्टराईले यो पोस्ट गर्दा नेपालीहरू सुत्नेबेला भइसकेको थियो। 

त्यसैले, प्रचण्डले आफूबारे कटाक्ष गरिएको डा. भट्टराईको पोस्टबारे राति सायद जानकारी पाएनन्। 

सम्भवतः प्रचण्डले बुधबार (९ असोज) बिहान मिश्रको पोस्टलाई आधार बनाएर डा. भट्टराईले गरेको प्रहारबारे जानकारी पाए। त्यसपछि मात्र मिश्रले प्रवाह गर्न खोजेको सन्देशबारे प्रचण्डको चेत खुलेको र मिश्रको ‘दाबी’ को खण्डन आएको देखिन्छ। 

नत्र मिश्रले उपरोक्त पोस्ट गरेपछिका २१ घण्टासम्म प्रचण्डको सचिवालय मौन थियो। खासमा मिश्रले गरेको प्रशंसामा प्रचण्ड र उनको सचिवालय रमाएरै बसिरहेको थियो।

प्रशंसाले निम्त्याएको विनास 
‘को बढी राजावादी देखिने’ भन्ने होडमा राजेन्द्र लिङ्देनले तीन वर्षअघि कमल थापालाई पछार्दै राप्रपाको नेतृत्व हत्याएका थिए। मिश्र पनि अहिले त्यही होडमा छन्, ताकि ‘२४ क्यारेटवाला राजावादी’ को ताज लिङ्देनको शिरबाट उतारेर आफ्नो शिरमा लगाउन सकियोस्। 

प्रचण्ड पनि ‘गणतन्त्र स्थापना गरेकोमा पश्चातापउन्मुख छन्’ भन्ने सन्देश प्रवाह गर्नसक्नु मिश्रको सफलता हो। 

आफूलाई ‘२४ क्यारेटको राजतन्त्रवादी’ सिद्ध गर्ने प्रयासमा रहेका मिश्रलाई माथिल्लो कौसीमा लगेर प्रचण्डले राजतन्त्र र गणतन्त्रबारे किन अन्तरंग कुराकानी गरे? यो रोचक विषय हो। 

केही समययता मिश्रले प्रचण्डको अस्वाभाविक प्रशंसा सुरु गरेका थिए। त्यही अस्वाभाविक प्रशंसा नै प्रचण्ड निवासको कौसीमै पुगेर प्रचण्डलाई खुइल्याउने सफलताका कडी बन्न पुग्यो।

मिश्रसँग जुन दिन खुमलटार निवासको कौसीमा प्रचण्डको बातचित भयो, त्यसको अघिल्लो दिन (७ असोज) मा दुवै एउटै कार्यक्रमका वक्ता थिए। संविधानका सन्दर्भमा भएको कार्यक्रमको आयोजना पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ आबद्ध संस्थाले गरेको थियो। 

‘त्यही कार्यक्रममा मिश्रले भेट्नुपर्‍यो भन्नुभएको रहेछ,’ प्रचण्डका प्रेस संयोजक नरेन्द्र केसीले भने, ‘त्यो अनुरोधपछि प्रचण्डले मिश्रलाई खुमलटारमा निम्तो दिनुभएको हो।’  

माओवादी जनयुद्ध र गणतन्त्र स्थापनाप्रति मिश्रले विमति राख्दै आएका छन्। कतिपय प्रसङ्गमा त उनले जनयुद्धलाई ‘भारतद्वारा सञ्चालित’ साबित गर्ने प्रयाससमेत गरेका छन्। 

जनयुद्धप्रति यस्तो धारणा राख्ने मिश्रले त्यो कार्यक्रममा भने प्रचण्डको भव्य प्रशंसा गरिदिए। 

‘सशस्त्र द्वन्द्वको १० वर्ष मात्र होइन, गणतन्त्र स्थापनायताका १५ वर्षको नेपाली राजनीति समेत प्रचण्डको वरिपरि घुमिरहेको छ,’ मिश्रको भनाइ थियो, ‘अहिलेको संविधान पनि प्रचण्डकै कारण बनेको हो, त्यसैले यो संविधानलाई प्रचण्डको संविधान भन्नुपर्छ।’ 

संविधान दिवस (३ असोज) का दिन पनि मिश्रले प्रचण्डको यस्तै प्रशंसा गरेका थिए। 

‘असाधारण कुरामा शत्रुको पनि प्रशंसा गर्नु भनेर भन्छन्। आज संविधान दिवस जो–जसले मनाउँदै हुनुहुन्छ, यो संविधानको केन्द्रमा भएको व्यक्ति (प्रचण्ड) नभइदिएको भए तपाईंहरूले आज ‘हामी गणतन्त्रवादी, अग्रगामी’ भनेर फूर्ति लाउनै सक्नुहुन्थेन,’ ४ मिनेट २८ सेकेण्ड लामो ‘भिडिओ सन्देश’ फेसबुकबाट सार्वजनिक गर्दै मिश्रले कांग्रेस–एमालेसँग प्रश्न गरेका थिए, ‘ती व्यक्ति (प्रचण्ड) लाई आज तपाईंहरूले सम्झनुपर्दैन? प्रचण्ड नभइदिएको भए आजको संविधान लेखिन्थ्यो?’  

‘सरकारमा, क्याबिनेटमा, तुरुन्त प्रस्ताव राखेर दरबारमार्गलाई ‘प्रचण्डमार्ग’ नामाकरण गर्नुस्,’ सत्तारुढ दुई ठूला दललाई मिश्रको सुझाव थियो, ‘अनि, प्रचण्डको गज्जबको फोटो टाँस्नुस्। आफ्नो पार्टीको कार्यालयमा लगेर टाँस्नुस्।’  

कसरी प्रचण्डको जय–जयकार गर्ने, त्यसको काइदा समेत उनले कांग्रेस–एमालेलाई सिकाएका थिए। ‘लालसलाम स्टाइल’ मा मुठ्ठी कसेर मिश्रले भिडिओमा भनेका छन्, ‘तपाईंहरूले आज हर्षाेल्लास मनाउँदाखेरि ‘राजनेता प्रचण्ड–जिन्दावाद!’, ‘प्रचण्डपथ– जिन्दावाद!’ भनेर नारा लगाउन नबिर्सनुहोला। आज तपाईंहरू जे (गणतन्त्र, संघीयता, धर्म निरपेक्षता) मा गर्व गर्दै हुनुहुन्छ, त्यसको केन्द्रमा प्रचण्ड नै हुनुहुन्छ।’ 

खासमा यो कांग्रेस–एमालेप्रति मिश्रको व्यङ्ग्य थियो। प्रचण्डले कोरेको ‘गणतन्त्र मार्ग’ मा ‘पुराना राजतन्त्रवादी’ दलहरू पनि हिँडेपछि नेपालमा गणतन्त्र स्थापना सम्भव भएको थियो। 

त्यसैप्रतिको असन्तुष्टि पनि थियो, मिश्रको त्यो व्यङ्ग्य। मिश्रले गणतन्त्रवादी पंक्तिबीच फाटो पार्न खोजेका हुन् भन्ने प्रचण्डले पनि बुझेका रहेछन्। 

जस्तो कि, ७ असोजको कार्यक्रममा मञ्चमा रहेका मिश्रलाई प्रचण्डले भने, ‘अस्ति (३ असोज) मा तपाईंले कांग्रेस–एमालेलाई दरबारमार्गको नाम प्रचण्डमार्ग राखे हुन्छ भनिदिनुभयो। तपाईंले मेरो प्रशंसा गर्नुभएको हो कि आलोचना? मलाई त कांग्रेस–एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि भन्ने पो महसुस भयो।’ 

राणाकालीन चाकडी–चाप्लुसी पञ्चायत र बहुदल हुँदै गणतन्त्रकालसम्म आइपुग्दा अझ फस्टाएको छ। गणतन्त्रमा चाकडी–चाप्लुसीको मलजलमा प्रचण्डको पनि ठूलै योगदान छ। 

मिश्रले गरिदिएको प्रशंसाप्रति उनी निकै आभारी थिए, त्यही कार्यक्रममा प्रचण्डको अभिव्यक्तिले यो कुरा देखाउँछ। 

‘प्रचण्डलाई अलि अवमूल्यन गर्ने प्रवृत्ति छ, यहाँ नेपालमा। प्रचण्डको छाया परेको संविधान भन्नुहुन्छ केही साथीहरूले। ठूला पार्टीका नेताहरूलाई लाग्छ– (संविधानमा) यहाँ हेरे पनि माओवादी देखिन्छ, त्यहाँ हेरेपनि माओवादी देखिन्छ,’ प्रचण्डले भनेका थिए, ‘समावेशी पनि माओवादी देखिने, समानुपातिक पनि माओवादी देखिने भन्नेलाई तपाईं (रवीन्द्र मिश्र) ले सिधासिधा भन्दिनुभो– हो त नि, (यो सबै ल्याउने) प्रचण्ड हो। (त्यसैले) रवीन्द्रजीलाई एक अर्थमा धन्यवाद पनि भन्न चाहन्छु।’ 

मिश्रले सार्वजनिक रूपमै प्रचण्डबाट धन्यवाद पाए, प्रचण्डले प्रशंसा। आत्मप्रशंसामा समेत रमाउने प्रचण्डलाई मिश्रले त्यतिविघ्न ‘प्रशंसा’ गरेपछि के चाहियो! ‘एकपटक भेटौँ न’ भन्ने मिश्रको प्रस्तावमा प्रचण्ड सहमत भइहाले। 

‘संविधान दिवसका दिन मैले पोस्ट गरेको भिडिओबारे पनि उहाँ जानकार हुनुहुन्थ्यो, त्यो (७ असोजको) कार्यक्रममा पनि मैले यो संविधान प्रचण्डका कारण आएको हो भनेको थिएँ,’ भेटघाटको पृष्ठभूमि बाँध्दै मिश्रले नेपालखबरसँग भने, ‘कार्यक्रमकै बेला मैले ‘हामीबीच भेटघाट नभएको धेरै भयो, भेटौँ न’ भनेको थिएँ, उहाँले बुधबार बिहानका लागि समय दिनुभयो र भेटघाट सम्भव भयो।’ 

आफ्नो निवास आइपुगेका मिश्रलाई गोप्य कुराकानीका लागि प्रचण्डले उपल्लो तलाको कौसीमा लगे। संभवतः त्यहाँ पनि मिश्रबाट उनले थप प्रशंसा पाए। त्यति भएपछि प्रचण्डलाई के चाहियो! प्रशंसाले लठ्ठिएका प्रचण्डले सम्पूर्ण ‘मनपेट’ खोले। 

प्रचण्ड–मिश्रबीचको भेटघाटको प्रारम्भविन्दु मुठ्ठी कसेर ‘प्रचण्डपथ जिन्दावाद’ भन्दै मिश्रले जारी गरेको त्यही भिडिओ सन्देश थियो। तर, प्रचण्डसँगको भेटपछि मिश्रले जे–जस्तो सन्देश प्रवाहित गरिदिए, त्यसले राजतन्त्रविरुद्ध उठेको प्रचण्डको मुठ्ठी कति खुकुलो रहेछ भन्ने देखाइदिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .