ad ad

राजनीति


नाउपामा रेशम–रञ्जिता मिले, उपाध्यक्षसहित २६ नेता राजेन्द्र महतोको पार्टीमा समाहित

नाउपामा रेशम–रञ्जिता मिले, उपाध्यक्षसहित २६ नेता राजेन्द्र महतोको पार्टीमा समाहित

गोकुल जोशी
असोज १०, २०८१ बिहिबार १५:१७, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना पार्टी छोडेका छन्। यादवसहित ती केन्द्रीय सदस्यहरू आफ्नो पदबाट राजीनामा दिएर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिमा समाहित भएका छन्। 

उनीहरुले संयुक्त रूपमा विज्ञप्ति जारी गरी नागरिक उन्मुक्ति पार्टी छाडेर राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेको जनाएका छन्। 

नाउपा छोड्नेमा मधेश प्रदेशका नेताहरू छन्। केन्द्रीय उपाध्यक्ष यादवसँगै केन्द्रीय सदस्यहरू विरेन्द्र महतो(धनुषा), सुनिता कुमारी महतो(धनुषा), दिनेश यादव(धनुषा), विष्णुनारायण यादव(सिरहा), रामअशिष चौधरी(पर्सा), सरिता महतो चौधरी(पर्सा), पप्पुकुमार महतो(पर्सा), अफताब हवारी(पर्सा), अरुणकुमारी चौधरी(बारा), निराजन चौधरी(बारा), उर्मिला राणा(बारा) र पप्पु कुमार बैठा (बारा) छन्।

यस्तै, नाउपा छोड्नेको सूचीमा सुनिल कुमार शाह (बारा), मो.तनवीर अख्तर मिकरानी (रौतहट), मुन्ना कुमार जयसवाल (रौतहट), पुष्पेन्द्र कुमार झा (रौतहट), मो.कुदृस (रौतहट), मो.सहजाद मिकरानी (रौतहट), तिर्थनाथ चौधरी कलवार (सर्लाही), नाजामुदिन मिकरानी (सर्लाही), सुरेन्द्र साह 
(महोत्तरी), मनोहर कुमार सिंह दनुवार (महोत्तरी), विष्णुदेव सिंह दनुवार (महोत्तरी), टिकिलिया देवी सादा मुसहर (महोत्तरी), र सुशिला सिंह थारु (महोत्तरी) पनि छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेको केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको गुनासो गर्दै उनीहरुले सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गरेका छन्।

पार्टी नेतृत्व पार्टीलाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेको आरोप समेत उनीहरूले लगाएका छन्। पार्टीभित्र देखा परेको सांगठनिक एंवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका तर नसुध्रिने अवस्था देखेर पार्टीबाट अलग हुने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ।

‘हामीलाई पहिचान सहितको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने कुराको समेत हामीले महसुस गरेका छौँ। अहिले मुलुकले बहुल राष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौँ,’ विज्ञप्तिमा लेखिएको छ।

श्रीमान् श्रीमती समेत रहेका नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच ७ महिनादेखि चुलिएको शक्ति संघर्ष सहमतिमा आएर दुवैले संयुक्त बैठक बोलाएलगत्तै केन्द्रीय उपाध्यक्ष समेत रहेका यादवसहित मधेश केन्द्रीत सदस्यले पार्टी छोडेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .