ad ad

राजनीति


कांग्रेस–एमाले दुई दलीय व्यवस्थाको प्रपञ्च साना दलबीच ध्रुवीकरणको आधार : रवि लामिछाने (पूर्णपाठ)

कांग्रेस–एमाले दुई दलीय व्यवस्थाको प्रपञ्च साना दलबीच ध्रुवीकरणको आधार : रवि लामिछाने (पूर्णपाठ)

नेपालखबर
असोज २, २०८१ बुधबार १९:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेको अरोप लगाएका छन्।

बुधबार रास्वपाको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यसका कारण साना दलबीच ध्रुविकरणको आधार बन्दै गएको समेत दाबी गरेका छन्।‘सरकार सहयात्री कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेकाले राजनीतिक ध्रुविकरणको आधार बन्दै गएको छ,’ लामिछानेले भनेका छन्, ‘व्यवस्थापकीय सुधार र राजनीतिक  स्थिरताको बहनामा उनीहरू साना दलको अस्तित्व मेटाउने योजनामा छन्। सम्भावित यो कदमले वैकल्पिक राजनीतिक शक्ति बन्न चाहने नयाँ दल र शक्तिहरूलाई ढिल-चाँडो सहकार्यका लागि एकै ठाउँमा ल्याउन सक्छ।’

यस्तो अवस्थामा वैकल्पिक राजनीतिक शक्तिहरुलाई एकीकृत गर्ने दायित्व आफूहरुकै हुने उनको प्रतिवेदनमा उल्लेख छ। ‘यहाँ हामीले ख्याल गर्नुपर्छ कि, वैकल्पिक राजनीतिक शक्तिप्रतिको विश्वास र मतलाई एकीकृत गर्ने दायित्व पनि हाम्रै हो,’ लामिछानेको प्रस्ताव छ, ‘यसलाई पनि हामीले अभियानकै रुपमा अगाडि बढाउनुपर्छ।’

प्रत्यक्ष मुख्यमन्त्रीको निर्वाचन
सभापति लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय प्रणाली अपनाउनुपर्नेबारे पार्टीमा प्रस्ताव गरेका छन्। राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले प्रदेसभा भने खारेज गनुपर्नेमा जोड दिएका छन्।

स्थानीय जनप्रतिनिधि समेत रहनेगरी प्रदेश परिषद बनाउने र त्यसैलाई नै विधायकी अधिकार दिने प्रस्ताव गरेका लामिछानेले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरेका छन्।

‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रधानमन्त्रीले योग्य र विषय विज्ञमन्त्री नेपाली नागरिकबाट छान्न पाउने व्यवस्था,’ राजनीतिक प्रतिवेदन पेस गर्दै उनले भने, ‘प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रनिनिधि सम्मिलित गर्दै प्रदेश परिषदलाई नै विधायकी अधिकार दिन सकिने उन्नत बिकल्पबारे छलफल सुरु गरिनेछ।’

‘साथै विज्ञले नेतृत्व गर्नेगरि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री समेतगरी ५ वटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने ७ वटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरुको संख्या भने ५ सय भन्दामुनी झारिने छ,’ लामिछानेको प्रस्ताव छ।

रास्वपा डीएनए स्थापित भएको छैन
सभापति लामिछानेले पार्टीका दर्जनौं कमजोरी औंल्याएका छन्। भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले पार्टी स्थापनाका दुई वर्ष यताका केही कमजोरी औल्याएका हुन्।

ती कमजोरी किटान गर्दै लामिछानेले भनेका छन्, ‘परिभाषित कार्यक्षेत्र र जिम्मेवारीको अभाव, कमजोर समानुपातिक समावेशी प्रतिनिधित्व, केन्द्र नियणन्त्रित सांगठानिक संरचना, तर्दथवादको संस्थागत सुरुवात, लोकप्रियतावादप्रतिको रुचि, हामी लक्षित तथाकथित प्रकरण र ती प्रकरणप्रतिको निम्छरो प्रतिवाद, कमजोर आन्तरिक सूचना प्रणाली एवं नेता सदस्यबीचको दोहोरो अन्तरसंवाद अभाव पनि हाम्रा कमजोरी हुन्।’

विभिन्न पृष्ठभूमिबाट आएकाहरुको पार्टी बनेको भए पनि आफ्नो पुरानो विचार छोड्न नसकेको भन्दै लामिछानेले अझै रास्वपाको 'डीएनए' स्थापित नभएको बताए। ‘हामीले आफूलाई फरक छौं त भन्यौं तर विभिन्न धारबाट एकीकृत हुनेले पुरानै विचार र दृष्टिकोणको धङधङी कायम राख्दा र कतिपयको गैरराजनीतिक पृष्ठभूमि हुँदा हामीले अझैं रास्वपा डीएनए स्थापित गर्न बाँकी छ,’ उनले भनेका छन्।

उनले अघिल्लो चुनावका उम्मेदवारहरुको क्षमताको सदुपयोग गर्न नसकेको समेत सुनाए। ‘२०७९ को चुनावमा पार्टीका एक इशारामा तन, मन र धन लगाएर चुनावमा होमिएका १ सय ३१ प्रत्यक्ष र ११० समानुपातिक उम्मेदवारहरूको क्षमता सदुपयोग गर्न नसक्नु हाम्रो ठूलो कमजोरी भयो,’ लामिछानेले भने।

हारेको होइन, निम्तो दिएको
सभापति लामिछानेले आफ्नो पार्टी अघिल्लोपटक चुनाव लडेको नभएर अर्को चुनावका लागि निम्तो दिन आएको टिप्पणी पनि भेलामा गरे। राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा उनले पार्टी होइन, झन् बलियो हुँदै गइरहेको जिकिर गरे।

‘हामी कमजोर होइन, बलियो हुँदै छौँ, अझै फैलिँदै छौँ,’ उनले भने, ‘युद्ध नै लडेका छैनौँ। कसरी हारिन्छ?’

वास्तविक चुनाव २०८४ मा हुने लामिछानेको भनाइ छ। ‘२०७९ मा हामी लडेका होइनौँ, हामी २०८४ मा लड्ने निम्तो मात्रै दिन आएका हौँ,’ उनले भने, ‘जितहार त २०८४ मा लडेपछि थाहा हुन्छ।’

इलाममा भएको उपनिर्वाचनमा पार्टीको हारले अझै मेहनत गर्न सचेत गराएको लामिछानेको भनाइ छ। ‘इलामले हाम्रो टाउकोमा घन्टी बजायो र भन्यो यतिले पुगेन, अझै तीक्ष्ण, चतुर र सचेत प्रयत्न गर। बस्, इलाममा यत्ति भयो,’ उनले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .