राजनीति


‘उपचारमा छरिएको स्रोत एकीकृत गर्न सके स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिन्छ’

‘उपचारमा छरिएको स्रोत एकीकृत गर्न सके स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिन्छ’

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १७:२१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन्।

व्यवस्थापिका संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए।

‘अहिले सामाजिक सुरक्षा कोष, सुरक्षा निकाय तथा कर्मचारीका बेग्ला बेग्लै बिमा कार्यक्रम छन्,’ उनले भने, ‘राज्यले उपचारका लागि पनि विभिन्न शीर्षकमा खर्च गरिरहेको छ। हाम्रो उद्देश्य यी सबैलाई एकीकृत प्रणालीमा राखेर थप स्रोतको खोजी गर्ने हो।’

उनले थपे, ‘हाल राज्यको मातहत रहेका सबै बिमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिले भन्दा स्रोत बढ्नेछ,’ उनले भने, ‘सबै कर्मचारीले तलबको केही प्रतिशत स्वास्थ्य बिमामा आबद्ध भएर योगदान गर्न सके स्रोत पनि बढ्ने अवस्था आउँछ।’

मन्त्री पौडेलले राज्यको योगदान रकम समेत थप गर्न र करमार्फत श्रोत थपेमा स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे। उनले श्रोत सुनिश्चिततासँगै बिमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बिमा प्रभावकारी बन्ने बताए।

हालको १ लाख बिमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै सेवामा सुधार अनि श्रोतसमेत थप गर्न सके ५ लाखको बिमा बनाउन सकिने भन्दै त्यसै विश्वासका आधारमा आफू लागि परेको बताए।

मन्त्री पौडेलले यस कार्यमा सहयोगका लागि संसदीय समितिसँगसमेत आग्रह गरे।

अस्पताल थप्नुभन्दा भएकालाई सुविधा थप्ने प्रयास

अस्पतालहरुमा जनशक्ति अभावको समस्या रहेको भन्दै नयाँ खोल्नुभन्दा सातवटै प्रदेशका अस्पतालमा विशिष्टिकृत सेवा थप गरेर भएकै जनशक्तिबाट विशिष्ट उपचार दिन प्रयास थालिएको बताए।

‘क्यान्सरको उपचार सेवा विस्तार भएको छ’, उनले भने, ‘मिर्गौला तथा मुटुको उपचारसमेत कम्तिमा एक प्रादेशिक अस्पतालमा विस्तार गर्ने उद्देश्यका साथ काम भैरहेको छ।’

स्वास्थ्य जनशक्ति अभावको समस्या समाधान गर्नका लागि दरबन्दी थप गर्न प्रस्ताव लगिए पनि अर्थ मन्त्रालयबाट स्वीकृति नआउने गरेको गुनासो गर्दै मन्त्री पौडेलले दरबन्दी थप गर्न नसक्दासम्म भएकैलाई बढी सुविधा दिएर नागरिकलाई सेवा दिने प्रयासमा सरकार लागेको बताए।

‘जनशक्ति नथपिँदासम्म भएकालाई अल्लि बढी खटिदिन हामीले आग्रह गरेका छौं,’ उनले भने, ‘त्यसका लागि अतिरिक्त भएको आम्दानीबाट सुविधा थप गर्ने नीति लिएका छौं।’

मन्त्री पौडेलले हाल देशमा देखिएको हैजा, झाडापखाला तथा इन्सेफ्लाइटिसजस्ता संक्रमण नियन्त्रणका लागि तीनै तहसँग मिलेर काम गरिरहेको बताए।

‘हालसम्म तीनवटै तह बेग्ला बेग्लै सरकारका रुपमा काम गरिरहेको अवस्था थियो,’ उनले भने, ‘तर हामीले पहिलो पटक संक्रमण नियन्त्रणका लागि तीनवटै तहबीच समन्वय गरेर नियन्त्रणका उपाय अपनाएका छौं।’

संघ मातहतका अस्पतालमा अनलाइन प्रणाली सुरु
मन्त्री पौडेलले संघ मातहतका अस्पतालको सेवा प्रभावकारी गराउन प्रयासले काम थालेको भन्दै लाइन घटाउनका लागि अनलाइन प्रणाली सुरु भएको जानकारी दिए।

‘संघीय अस्पतालमा अनलाइनबाट टिकट र टोकन दिन थालिएको छ,’ उनले भने, ‘अब रिपोर्ट पनि अनलाइन प्रणालीमा लाने प्रयास हुँदैछ।’

उनले अपरेसनको कुर्ने समय घटाउनका लागि पनि भएकै जनशक्तिलाई सुविधा तथा सिफ्ट बढाउने प्रयास थालिएको समेत जानकारी दिए।

बैठकमा बोल्ने सांसदहरूले मन्त्री पौडेलले थालेको स्वास्थ्य सुधारका प्रयास सकारात्मक भएको भन्दै सफलताका लागि शुभकामना दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad