ad ad

राजनीति


भीम रावललाई एकीकृत समाजवादीको सन्देश– पार्टीमा आउनुस्, अध्यक्षबाहेक जुनसुकै पद दिन्छौँ

भीम रावललाई एकीकृत समाजवादीको सन्देश– पार्टीमा आउनुस्, अध्यक्षबाहेक जुनसुकै पद दिन्छौँ

नेपालखबर
भदौ १६, २०८१ आइतबार १६:२७, काठमाडौँ

गत निर्वाचनमा टिकट नपाएदेखि पार्टीमा निष्क्रिय रहेका एमाले नेता डा. भीमबहादुर रावललाई भित्र्याउन नेकपा एकीकृत समाजवादीका नेताहरूले कसरत थालेका छन्।

अध्यक्षबाहेकका जुनसुकै जिम्मेवारी दिन एकीकृत समाजवादी तयार रहेको सन्देश रावललाई पठाइसकिएको छ। 

पछिल्ला दिन रावलसँग एकीकृत समाजवादीका पदाधिकारीले दैनिकजसो कुराकानी गरिरहेका छन्।

रावलले मागेकै पद दिन समेत तयार रहेको एकीकृत समाजवादीका एक उच्च पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

‘अहिले हामी भीम रावलजीसँग कुराकानी गरिरहेका छौँ,’ उपाध्यक्षसमेत रहेका ती नेताले भने, ‘अध्यक्षबाहेक जे माग्यो त्यही दिन्छौं, नयाँ सिर्जना गरेर भएपनि हामी दिन्छौ। तपाईँ यस्तो तालले किन बस्नुहुन्छ भनिरहेका छौँ।’

तर, रावलले प्रष्ट जवाफ दिएका छैनन्। 

एकीकृत समाजवादीले भने रावललाई पार्टीमा ल्याएर देशव्यापी नयाँ माहोल बनाउन खोजेको छ। 

‘उहाँ (रावल) आउनुभयो भने सम्मानित एउटा पद पाउनुहुनेछ,’ उनले थपे, ‘उहाँ तत्कालै हतारिने मान्छे पनि होइन, उहाँका आफ्नै किसिमका विशेषता छन्। उहाँ चानचुने तालले प्रभावित हुने, निर्णयमा पुगिहाल्ने मान्छे होइन।’

एमालेमा हुँदा माधव नेपालको विश्वासपात्र नेता थिए, रावल।

तर, २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दा रावलसहितका दश चर्चित नेताहरूले नेपालको साथ छोडेका थिए। 

ती नेता भन्छन्, ‘हिजो माधव नेपालकै पक्का धरोहरका रुपमा हुनुहुन्थ्यो। तर, दश भाई एमालेमै बस्न गएपछि उहाँ (रावलजी) पनि उतै रहनुभयो। त्यतिमात्रै तलमाथि भएको हो नत्र हामी सँगसँगै हुन्थ्यौँ।’

एकीकृत समाजवादीले निर्वाचनबाटै पदाधिकारी निर्वाचित गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .