नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरेको भन्दै यसमाथि पूर्वाग्रही नहुन सरकारलाई आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले विद्युत प्राधिकरणले लोडसेडिङको अन्त्य गर्दै दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत निर्यात गर्न सफल भएको बताएका हुन्।
‘अहिलेको डाटा हेर्नुभयो भने विद्युत प्राधिकरणले दैनिक १३ करोड ११ लाखको विद्युत निर्यात गरेको छ। लोडसेडिङ अन्त्यको घोषणा गरेको छ। कुनै दूरदराजमा पुग्न बाँकी रहेको होला। यसैमाथि आजपनि टोकेको छ। भोलि पनि टोकेको छ। पर्सि पनि टोकेको छ। के गर्न खोज्नुभएको हो? म भन्न चाहन्छु, ध्यान नेपाल वायुसेवा निगमतिर जाओस्। चारवटा जहाज ग्राउण्डेड भइसकेका छन्। ८ हजार ८०० यात्रुहरु अलपत्र परेका छन्,’ उनले भने।
उनले प्राधिकरणले राम्रो काम गर्दागर्दै वर्तमान सरकारले निरन्तर टोकेको भन्दै के गर्न खोज्नुभएको हो? भनी प्रश्न गरे।
नेपाल एयरलाइन्सको चारवटा जहाज ग्राउण्डेड भएको भन्दै त्यतातिर ध्यान दिन आग्रह गरे।
‘यतातिर सरकारलाई ध्यानाकर्षण गराउनु होला। दुरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभुवन विश्वविद्यालयका अस्तिका झमेलाहरु सुधार्नका निम्ति प्रधानमन्त्रीलाई सुझाव दिनुस्। एउटा संस्थाले राम्रो काम ग¥यो भने त्यसैमाथि फर्किएको छ। कुराकानी गरेको छ। के गर्न खोज्नुभएको? केही नगरिकन बक्यौता उठाउनको निम्ति अनुरोध गर्न चाहन्छु,’ सांसद पौडेलले भने।
Shares

प्रतिक्रिया