ad ad

राजनीति


ओली–मोदी भेट झन् टाढा

ओलीले निम्तो पठाए पनि मोदी तत्काल नआउने, राष्ट्रसंघमा पनि निश्चित छैन भेट
ओली–मोदी भेट झन् टाढा

रामकुमार डिसी
भदौ ११, २०८१ मंगलबार २०:५८, काठमाडौँ

आफ्नै पूर्व क्याबिनेटका परराष्ट्रमन्त्री कमल थापाको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन सम्झिए। आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएरै ईपीजी गठन भएको भन्दै उनले अहिले त्यसको प्रतिवेदन बुझ्न आनाकानी गर्नुको कारण आफूले बुझ्न नसकेको बताए।

‘मोदीजी र मैले कुरा गरेरै प्रबुद्ध व्यक्तिहरूको समूह बनाएका थियौँ,’ तिलगंगास्थित आनन्द होटलमा सोमबार आयोजित विमोचन समारोहबाट ओलीले भनेका थिए, ‘चारजनाको समूह बनाएर दुई वर्षसम्म काम गर्‍यो। डा.भेषबहादुर थापाजस्ता प्रबुद्ध व्यक्तित्व, नीलाम्बर आचार्यजस्ता प्रबुद्ध व्यक्तित्व। उहाँहरूकै अगुवाइमा हामीले गरेका थियौँ। तर के कारणबाट भारतले त्यो बुझेको छैन। किन त्यस्तो भयो, त्यो बुझिएन तर कुनै गलत मनसायले भएको होइन।’

सन् १९५० को सन्धि लगायतका सारा कुराहरूको पुनर्मूल्यांकन त्यही ईपीजी प्रतिवेदनबाटै हुने भन्दै त्यो कार्यान्वयन गर्ने या नगर्ने भन्नेबारे दुवै देशका प्रधानमन्त्री बसेर तय गर्नुपर्नेमा उनले जोड दिए। 

ओलीले भने, ‘प्रधानमन्त्रीहरूले बसेर छलफल गरेर, कार्यान्वयन गर्ने, नगर्ने, के गर्ने, कसो गर्ने, कसरी गर्ने कि गर्दै नगर्ने कि भन्ने कुरा त पछि प्रधानमन्त्रीहरूले गर्ने हो।’

ओलीले सीमालगायत नेपाल–भारतका धेरै विषयमा सहमति खोज्न मोदीसँग बसेर छलफल गर्न आश्वयक ठाने पनि तत्कालै ओली–मोदी भेट जुर्ने देखिँदैन। बरु, त्यस्तो सम्भावना टर्दै गएको छ। त्यसका केही आधार छन्।

बिम्स्टेक सम्मेलन सर्‍यो, भेट टर्‍यो
थाइल्यान्डको आन्तरिक राजनीतिमा पछिल्लो समय आएको उथलपुथलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन तत्कालका लागि स्थगित भएको छ। 

थाइल्यान्डको विदेश मन्त्रालयले भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन स्थगित भएको पत्र त्यहाँ रहेका सदस्य देशका दूतावासलाई दिएको थियो। प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा जाने तयारीमा थिए, जहाँ भारतीय प्रधानमन्त्री मोदीसँग उनको भेट हुने थियो। सम्मेलनको नयाँ मिति समेत तय नभएकाले अब बिम्स्टेकको मञ्चमार्फत ओली–मोदी संवाद हुने सम्म्भवना तत्काललाई टरेको छ। 

ओलीलाई छैन भारतको निमन्त्रणा
नेपाली कांग्रेससँग ७ बुँदे सहमति गरेर ओली गत असार ३० मा प्रधानमन्त्री नियुक्त भएका थिए। यसअघि भारतले अधिकांश प्रधानमन्त्रीलाई नियुक्त हुनेबित्तिकै बधाई दिँदै भारत भ्रमणको निम्तो दिने गरेको थियो। 

यसपालि डेढ महिना बित्दा पनि ओलीलाई भारतले निम्तो दिएको छैन। ‘परिचयात्मक भ्रमण’का लागि २७ साउनमा नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए।

लगत्तै भारत गएकी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेट गरेकी थिइन्। मोदीसँगको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार ओलीको भारत भ्रमणबारे कुनै चर्चा भएको थिएन। त्यसैले पनि प्रधानमन्त्री ओली तत्काल भारतको औपचारिक भ्रमणमा जाने सम्भावना छैन। ओली नै नगएपछि ओली–मोदी संवादको सम्भावना पनि भएन। 

ओलीको निम्तोमा तत्कालै नेपाल आउँदै छैनन् मोदी 
नेपाल आएका भारतीय सचिव मिस्रीमार्फत ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। भारत गएका बेला राणाले पनि मोदीलाई ओलीको निम्ता हस्तान्तरण गरेकी थिइन्। मोदीले पनि निमन्त्रणाका लागि धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल आउने वचन दिएका थिए। 

तर, मोदीले नेपाल आउने समयसीमाबारे केही पनि बताएका थिएनन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार मोदीको नेपाल भ्रमणलाई लिएर अहिले कुनै पनि गृहकार्य भइरहेको छैन। कम्तीमा पनि संयुक्त राष्ट्रसंघको महासभाअघि मोदीको नेपाल भ्रमणको सम्भावना छैन।

राष्ट्रसंघमा पनि निश्चित छैन ओली–मोदी भेट
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने तयारी गरिरहेका छन्। भदौ २५ देखि असोज १२ सम्म चल्ने महासभामा ओलीले पनि सम्बोधन गर्ने छन्। उनले असोज ६–७ मा हुने ‘समिट अफ द फ्युचर’लाई सम्बोधन गर्ने कार्यक्रम छ। 

मोदी भने अघिल्लो वर्ष महासभाका लागि अमेरिका गएनन्। यसपटक उनी जाने, नजाने अझै निश्चित भइसकेको छैन। राष्ट्रसंघ महासभाको साइडलाइन ओली–मोदी भेटका लागि उपयुक्त मञ्च हो। तर, त्यसका लागि पनि मोदी तयार हुनुपर्छ। मोदी तयार नभएको खण्डमा साइडलाइन वार्ता पनि सम्भव देखिँदैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .