नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले नेपालको शान्ति प्रक्रियाको आरम्भकर्ता नेकपा माओवादी केन्द्र भएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले नेपालको शान्ति प्रक्रिया तत्कालीन नेकपा (माओवादी)ले २०६१ सालको अन्त्यतिरबाट सुरु गरेको दाबी गरे।
प्रचण्डले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ माघमा निर्वाचित सरकारलाई अपदस्थ गरेर शक्ति हत्याएपछि हामीले त्यो अधिनायकवादी कदमलाई शान्ति स्थापनाको अवसरको रूपमा सदुपयोग गर्ने निर्णय गरेका हौँ।’
‘माघ ०६१ मा सेनाको सहयोगमा राजा ज्ञानेन्द्रले मूलधारका दलहरूलाई समेत प्रतिबन्ध लगाएपछि मात्र सात दलीय गठबन्धन माओवादीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको ऐतिहासिक तथ्य हामी सबैलाई थाहा छ,’ प्रचण्डले भने, ‘यस अर्थमा माओवादी पार्टी नै नेपालको शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता हो भन्न द्विविधा मान्नुपर्ने कहीँ ठाउँ छजस्तो मलाई लाग्दैन।’
शान्ति प्रक्रियाको अभिन्न अंगको रूपमा संक्रमणकालीन न्यायसम्बन्धी राजनीतिक सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक संसदले अनुमोदन गरेको भन्दै उनले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताए।
Shares

प्रतिक्रिया