ad ad

राजनीति


रास्वपा सांसदको आरोप– सभामुख घिमिरे सरकारको निर्देशनमा चल्नुभयो

रास्वपा सांसदको आरोप– सभामुख घिमिरे सरकारको निर्देशनमा चल्नुभयो

नेपालखबर
साउन २९, २०८१ मंगलबार १९:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुख देवराज घिमिरेलाई सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुख घिमिरेले सरकारको निर्देशनमा आफूहरूको आवाज दबाउन लागेको आरोप लगाए।

बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकमका बारेमा बोल्दैगर्दा सभामुख घिमिरेले विषयकेन्द्रित नभएको भन्दै बोल्न रोक लगाएका थिए।

त्यसपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) समेतका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुखले सांसद ढकाललाई बाँकी कुरा राख्न दिएका थिए।

सोही विषयलाई लिएर रास्वपा सांसदहरुले सभामुखको भूमिकाप्रति आशंका व्यक्त गरेका हुन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका सांसद हरि ढकालले भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक विषय भएको बताए। 

आफूले विद्युतको वक्यौता महशुल उठाउनुपर्छ भन्न लाग्दालाग्दै सभामुखले माइकको लाइन काटेको भन्दै संसदमा महसुल उठाउनुपर्छ भन्न नपाइने हो? भन्दै प्रश्न गरे।

‘भ्रष्टचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हो। यो देशको महारोग त्यही होइन? महसुल उठाउने कुरा २२ अर्ब घटेर १६ अर्ब भएको छ। १६ अर्ब घटेर ६ अर्ब भएको छ। अनि मैले बिजुली छुनेबित्तिकै सभामुखले लाइन काट्नुहुन्छ। छुनै नहुने बिजुली? महसुल उठाउनुपर्छ भन्नै नहुने सदनमा? त्यसलाई विशेष समय छुट्याउनुपर्ने?,’ उनले भने।

त्यस्तै, अर्का सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारले दिएको निर्देशन लागु गर्न लागेको आरोप लगाए। उनले आफूहरुलाई दुई तिहाईको सरकारले दम्भ देखाउने कोशिस गरेको भान भएको पनि बताए।

‘सांसदहरुले जनताको कुरा सम्मानित सदनमा राख्दै गर्दा सरकारले कतै दुई तिहाईको दम्भ देखाउने कोशिस गरेको हो कि भन्ने हामीलाई भान भयो। सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरुको अधिकारको पनि न्युनतम ख्याल नगरिकन सदनले बनाएको संसदीय नियमावली २०७९ को दफा १५ भित्र रहेर आफ्नो कुरा, जनताका आवाज राख्दै गर्दा सभामुख जसरी प्रश्तुत हुनुभयो, दुई तिहाइको सरकारले जस्तो निर्देशन दिएको थियो त्यो निर्देशनको लागू गर्न खोजिएको हो कि भन्ने हामीलाई भान भएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .