ad ad

राजनीति


मोहनविक्रमतिर देखाउँदै चित्रबहादुरले भने : ९० वर्षको उमेरमा पनि पढिरहनुहुन्छ, प्रेरणा किन नलिने?

मोहनविक्रमतिर देखाउँदै चित्रबहादुरले भने : ९० वर्षको उमेरमा पनि पढिरहनुहुन्छ, प्रेरणा किन नलिने?

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १९:१५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले क्रान्तिकारीहरूले पढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको पार्टी स्कुलको २० औँ सेसनलाई शुक्रबार समापन गर्दै अध्यक्ष केसीले कम्युनिस्ट क्रान्तिकारीको हतियार नै मार्क्सवादी–लेनिनवादी शिक्षा रहेको बताए।

आफूलाई कम्युनिष्ट भन्न रुचाउने तर अध्ययन नगर्ने प्रवृत्ति बढिरहेको भन्दै केसीले अध्ययन नगर्नेहरू वैचारिक चरित्रको हिसाबले पनि कम्युनिस्ट हुन नसक्ने तर्क गरे।
केसीले भने, ‘क्रान्तिकारीले पढ्नुपर्दछ, नामधारीले पढ्नुपर्दैन।’

उनले छेउमै बसेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहतिर देखाउँदै कार्यकर्तासँग भने, ‘उहाँ (सिंह)ले ९० वर्षको उमेरमा अरूलाई पढ्न लगाएर भए पनि निरन्तर पढ्नुहुन्छ। उहाँसँग प्रेरणा किन नलिने?’

केसीले आफू पनि ८३ वर्ष पुगेको तर अहिले पनि निरन्तर पढ्ने गरेको उल्लेख गरे।

‘कम्युनिस्टहरूको सैद्धान्तिक हतियार नै मार्क्सवादी–लेनिनवादी शिक्षा हो’ उनले भने, ‘त्यो शिक्षा हासिल गर्नका लागि पटक पटक पढ्नुपर्ने आवश्यकता छ।’

सही दर्शनको आधारमा सही र गलत छुट्याउन सकिन्छ : सिंह
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री सिंहले क्रान्तिकारी दर्शनद्वारा गलत विचार सफा गर्न सकिने बताए।

‘समाज जे जस्ता चिन्तन, प्रवृत्ति र संस्कार हुन्छन्, कम्युनिस्ट पार्टीमा त्यसको प्रभाव पर्दछ’ उनले भने, ‘सही दर्शनको आधारमा सही र गलत छुट्याउन सकिन्छ र यसरी गलत विचार सफा गर्न सकिन्छ।’

महामन्त्री सिंहले क्रान्तिकारी दर्शन, विचार र सिद्धान्तकै कारण कम्युनिस्टहरू समाजको सचेत तप्कामा परिणत हुने बताए।

‘मार्क्सका अनुसार कम्युनिस्टहरू भावी समाजका नागरिक हुन्’ उनले भने, ‘त्यसैले कम्युनिस्टहरू विचार, दृष्टिकोण, आचरण र संस्कारका हिसाबले आम जनताभन्दा माथि हुनुपर्दछ।’

यस सन्दर्भमा लेनिनलाई उद्धृत गर्दै सिंहले भने, ‘लेनिनले भनेका छन्, कम्युनिस्ट आम जनताबाट आएका तर चेतनास्तरको हिसाबले आम जनताभन्दा माथि उठेका वैचारिक तप्का हुन्।’

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको पार्टी स्कुलमा २० औँ सेसनको १५ दिने प्रशिक्षण कक्षा शुक्रबार सकिएको हो।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा सञ्चालित पार्टी स्कुलमा देशभरका ४० जना प्रशिक्षार्थी सहभागी थिए। प्रशिक्षण कक्षामा दर्शन, अर्थशास्त्र, समाजवाद, राजनीति, संगठन, सीमासम्बन्धी, जलस्रोत, राज्यको पुनर्संरचना अन्तर्राष्ट्रिय राजनीति लगायतका विवषयमा प्रशिक्षण भएको थियो।

पार्टी स्कुलमा राजनीतिक, सैद्धान्तिक तथा संगठनात्मक विषयमा मसाल महामन्त्री सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी, प्रमुख प्रशिक्षक दुर्गानाथ खरेल, जनमोर्चाका महासचिव मनोज भट्ट, नेता आनन्द शर्मा, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, मसाल बागमतीका प्रवक्ता समीर सिंह लगायत नेताहरूले प्रशिक्षण दिएका थिए।

यस्तै, विषयविज्ञका रुपमा कानुनविद् अधिवक्ता पदम रोका, अन्तर्राष्ट्रिय राजनीतिका ज्ञाता डा. श्रीधर गौतम, पर्यटनविद् डा. पशुपति न्यौपाने, विकास विज्ञ डा. प्रेम शर्मा, जलवायु तथा वातावरणविद् शंकर शर्मा, जलस्रोतविद रत्नसंसार श्रेष्ठ, ऐतिहासिक भौतिकवादबारे गोपीरमण उपाध्यायले आ–आफ्ना विषयमा प्रशिक्षण दिएका थिए।

जनमोर्चाले २०६५ सालदेखि नियमित रुपमा १५ दिनेदेखि २ महिनासम्मको प्रशिक्षण कक्षा सञ्चालन गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .