नेपाली कांग्रेसले बंगलादेशमा त्यहाँका नागरिकको भावना अनुसार चाँडै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेको छ। बुधबार केन्द्रीय समिति बैठकबाट निर्णय गर्दै कांग्रेसले बंगलादेशमा लोकतान्त्रिक प्रक्रिया पनि सुचारु हुने विश्वास गरेको छ।
‘बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ,’ कांग्रेसले निर्णय गर्दै भनेको छ।
त्यस्तै बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई कुनै असर पर्न नदिन पनि सरकार समक्ष आग्रह गरेको छ। कांग्रेसले भनेको छ, ‘यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ।’
बैठकमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल र लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमकाबारे ब्रिफिङ गर्दै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराएकी थिइन्।
Shares
प्रतिक्रिया