राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रुपमा छानबिन गर्नेमा आशंका व्यक्त गरेका छन्।
आइतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानबिन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै उनले सो आयोगबाट निष्पक्ष छानबिन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताए।
सरकारले सो बिमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो।
तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानबिन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङदेनको जिकिर थियो।
अध्यक्ष लिङदेनले भने, ‘सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन्। उनका भिनाजुलाई अहिले यो छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ। भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला?’
उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानबिनको जिम्मेवारी दिने गरेको भन्दै आपत्ति पनि जनाए।
अध्यक्ष लिङदेनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आक्रोश पनि व्यक्त गरे। रासस
Shares

प्रतिक्रिया