ad ad

राजनीति


महानिर्देशक अधिकारीलाई सांसदहरूको प्रश्न : सातवटा हवाई दुर्घटनाको जिम्मेवारी लिने कि नलिने?

महानिर्देशक अधिकारीलाई सांसदहरूको प्रश्न : सातवटा हवाई दुर्घटनाको जिम्मेवारी लिने कि नलिने?

नेपालखबर
साउन १०, २०८१ बिहिबार १८:२०, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरूले प्रश्न उठाएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरूले प्राधिकरणको नेतृत्वमाथि प्रश्न उठाएका हुन्।

सांसदहरूले प्राधिकरणको नेतृत्वमा प्रदीप अधिकारी आएपछि मुलुकमा ७ वटा हवाई दुर्घटना भएको भन्दै उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका हुन्। उनीहरूले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दासमेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै अधिकारीको आलोचना गरेका छन्।

कांग्रेस सांसद उदयशमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै त्यसको जिम्मेवारी लिनुपर्ने बताए। नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको उनको भनाइ थियो। अब प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको जबराले बताए।

सांसदहरूले ईयुको कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको र परिणाम आउने गरी काम गर्न नसकेको आरोप पनि अधिकारीमाथि लगाए।

महानिर्देशक अधिकारी

प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदासमेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन सक्नुपर्ने पनि सांसदहरूले बताए।

प्राधिकरणको नेतृत्वले जिम्मेवारी लिनुपर्ने भए पनि सधैँ अरूलाई दोष दिने गरेको सांसदहरूको भनाइ थियो। यस्तै नियमन र सेवा प्रदायक दिने भूमिका पनि छुट्याएर प्राधिकरणलाई टुक्र्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

यसअघि प्राधिकरणको नियमनकारी र सेवा प्रदायक भूमिका छुट्याएर अलगअलग निकायका रूपमा स्थापना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ संघीय संसदमा दर्ता गरिएको थियो। ती दुवै विधेयक राष्ट्रिय सभाबाट पारित भए पनि प्रतिनिधि सभामा पेस गर्न प्राधिकरणकै कर्मचारी युनियनहरूले अवरोध गरेका थिए। पछि प्रतिनिधि सभाको कार्यकाल सकिएपछि दुवै विधेयक निष्क्रिय भएका थिए। 

यी दुवै विधेयक तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय सभामा पेस गरेका थिए।   

बिहीबारको समितिको बैठकमा नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन आवश्यक ऐन-कानुन तत्काल बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका थिए।

एमाले सांसद सुनीता बरालले हवाई सुरक्षाका विषयमा ‘देश,सरकार र मुलुकको अभ्यास यस्तै हो ?’ भन्दै प्रश्न गरिन्। जिम्मेवार निकायहरूले परिणाम ल्याउने कुरामा विषयान्तर गर्न नहुने उनको धारणा थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछि मात्रै ७ वटा जहाज विमान दुर्घटना र ती घटनामा १ सय १८ जनाको ज्यान गएकोले त्यसको जिम्मेवारी पनि अधिकारीले नै लिनुपर्ने बताए।

पछिल्लो दुई वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको कुरा तथ्यबाट स्पष्ट भन्न सकिने अवस्था रहेको उनको भनाइ थियो।

सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पन्छिन खाजेको बताए। उनले संसदीय समितिमा सांसदहरूले सोधेका प्रश्नबाट कोही पनि भाग्न नमिल्ने विचार राखे।

हवाई सुरक्षासम्बन्धी नियमनकारी निकायहरूको जवाफबाट सन्तुष्ट हुने ठाउँ नरहेको समितिका अधिकांश सदस्यको भनाइ थियो।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मुत्यु भएका घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको स्वीकार गरे। तर अहिले राज्यले गठन गरेको आयोग नै आधिकारिक भएको उनको भनाइ थियो। नैतिक जिम्मेवारी आफू लिन तयार भए पनि आयोगले छानबिन गरेर जसको गल्ती देखायो, त्यसकै गल्ती हुने उनको जवाफ थियो।

प्राधिकरणको नियममा बादलभित्र जहाज जानु हुँदैन भन्ने रहे पनि जोमसोम दुर्घटनामा पाइलटले बादलमा लैजाँदा विमान दुर्घटना भएको उदाहरण दिँदै आफू मात्र सम्पूर्ण रूपमा जिम्मेवार नहुने तर्क पनि उनले प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .