सहिद रामवृक्ष यादवको नाममा धनुषामा प्राविधिक शिक्षालय स्थापना भएको छ।
यादवकै जन्मथलो धनुषाको गणेशमान चानाथ नगरपालिका ९ बरमझियाको श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्राविधिक शिक्षालयको उदघाटन गरेका छन्।
प्राविधिक शिक्षालयमा अगामी आर्थिक वर्ष २०७७/०७८ देखि कृषि बाली विज्ञानको पढाइ प्रारम्भ हुने विद्यालयका प्रधानाध्यापक राजदेव यादवले जानकारी दिए।
प्राविधिक पढाइका लागि संरचना व्यवस्थापन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल २० लाख रुपैयाँ उपलब्ध गराएको छ।
सहिद यादवकी छोरी प्रतिनिधिसभा सदस्य बोधमाया यादव, कान्छी छोरी सुनीता यादव र गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनादेवी यादवको विशेष पहलमा प्राविधिक विद्यालय स्थापना भएको जनाएको छ।
तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता रामवृक्ष यादव जनयुद्धको पूर्वसन्ध्यामा वि।स। २०५२ भदौ २ गते मारिएका थिए। उनको छोरा चन्द्रशेखर यादवको पनि जनयुद्धकालमै हत्या भएको थियो।
उनकी श्रीमती रामकुमारी यादवको भने ग्यास लिक भइ आगोले जलेर मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया