ad ad

राजनीति


०८४ ताकेको रास्वपा ०८१ मै समस्यामा, के गर्दैछ पार पाउन?

०८४ ताकेको रास्वपा ०८१ मै समस्यामा, के गर्दैछ पार पाउन?

सागर न्यौपाने
साउन ८, २०८१ मंगलबार २०:४९, काठमाडौँ

‘मिसन ०८४’ भनेर आगामी चुनावमा ठूलो पार्टी उदेश्यले अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी अभूतपूर्व संकटमा परेको छ।

सभापति रवि लामिछाने नागरिकतापछि सहकारी ठगीमा मुछिनु र ढाकाकुमार श्रेष्ठको टेप प्रकरणले सो पार्टीको छविमा ठूलो धक्का लागेको थियो। भर्खरै, महामन्त्री डा. मुकुल ढकालले पार्टी बिग्रेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेपछि रास्वपाभित्रको समस्या छताछुल्ल भएको थियो।

स्थापनाको दुई वर्षमै पार्टी गम्भीर संकटमा परेको निष्कर्षमा सो पार्टीका नेताहरू पुगेका छन्। पार्टीलाई दुर्घटनाबाट जोगाउन उनीहरूले विभिन्न उपाय अघि सारेका छन्।

सरकारबाट हटेर प्रतिपक्षमा पुगेपछि पार्टी सबलीकरणको राम्रो अवसर आएको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बताउँछन्।

‘दलभित्रको आन्तरिक कुरा मिलाउनुछ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘हाम्रो फरक पार्टी बन्ने अभियानमा प्रतिपक्ष बेन्चमा पुगेपछि सहयोग पुग्ने भएको छ।’

रास्वपा असार २८ गतेदेखि प्रतिपक्षमा पुगेको छ। 

पार्टीको डामाडोल स्थिति सम्हाल्न अब मूल्याकंन र समीक्षा गर्नुपर्ने, नेताहरूबीच एकता राख्नुपर्ने, संगठन विस्तारलाई अघि बढाउनुपर्ने र मिशन ०८४ को एजेन्डा बलियोगरी समातेर अघि बढ्नुपर्ने र संसदमा पार्टीको प्रभावकारी उपस्थिति हुनुपर्ने सो पार्टीका नेताहरू बताउँछन्।

पार्टी स्थापना भएको सुरुको एक वर्ष रास्वपामा सदस्यता लिनेको संख्या दैनिक ६ हजार बढी थियो। तर, सरकारमा गएको, पार्टीभित्रैका नेताहरू विभिन्न काण्डमा मुछिएको सार्वजनिक भएपछि सदस्यता लिने संख्या ह्वात्तै घटेको छ।

यसबाट नेताहरू चिन्तित देखिएका छन्। सहमहामन्त्री विपिन आचार्यले सबैभन्दा पहिले पार्टीभित्रको आन्तरिक संकट समाधान गरेर नयाँ रणनीति अख्तियार गर्ने बताए। 

‘यो दुई वर्षको अवधिमा रास्वपाले के सही गर्‍यो, के गलत गर्‍यो? तथ्यमा आधारित भएर आत्ममूल्यांकन, आत्मविश्लेषण गर्छौं, कसैको लहडमा होइन,’ आचार्यले नेपालखबरसँग भने, ‘हाम्रो लडाइँ, हामी कस्तो छौँ र कस्तो बन्नुपर्छ भन्ने कुराको विश्लेषण गर्छौं।’

अबको केही समय आन्तरिक विश्लेषणमा लगाउने उनको भनाइ छ।

‘अबको पार्टीको डिस्कोर्स के हो भन्ने कुरामा घनीभूत छलफल गर्छाैँ। कसरी जाने? कहाँ जाने? के लिएर जाने? के गर्ने? भन्ने कुरामा मजाले पार्टीभित्र छलफल गर्छाैँ। यो छलफलको निचोड लिएर बल्ल पब्लिकमा जान्छौँ,’ उनले भने।

पार्टीका नेताहरूमा रहेको असन्तुष्टिको व्यवस्थापन गर्नुपर्ने पनि अधिकांश नेताहरूको राय छ। पूर्वमहामन्त्री ढकालको असन्तुष्टि सम्बोधन गर्न नसक्दा पार्टीलाई ठूलो धक्का लागेको उनीहरूको मत छ।

अनुशासन उल्लंघन गरेको भन्दै ढकाललाई रास्वपाले निष्कासन गरिसकेको छ।

महामन्त्री ढकालले एक महिना देशका विभिन्न जिल्ला घुमेर पार्टीमा समस्या रहेको प्रतिवेदन तयार पारेका थिए। उनले सभापति र उनका केही समूहले चलाएको भन्दै पार्टी नभई क्लब भएको आरोप लगाएका थिए।

नेताहरूका असन्तुष्टि बाहिरिन थालेपछि रास्वपा सतर्क भएको छ। 

‘पार्टीका रूपमा डीएनएमा कहाँकहाँ चिप्लियौँ भन्ने कुरा पत्ता लगाइसकेपछि पार्टीलाई एकताबद्ध बनाउँछौँ,’ आचार्यले थपे, ‘जानेर नजानेर, राजनीतिक संस्कार नहुँदा साथीहरूसँग सम्बन्ध राम्रो बन्न नसकेको वा ख्याल गर्न नसकेको पनि हुनसक्छ। यो दुई वर्षको बीचमा कुनै साथीबीच कुनै खालको असमझदारी रहेछ भने त्यसलाई चिर्दै गएर पार्टी थप एकताबद्ध भएर अघि बढ्छ। पहिलाभन्दा पनि पार्टी बढी एकताबद्ध भएर जान्छ। सबैतिरको आक्रमणले पार्टीलाई एकताबद्ध बनाएको अर्काे तथ्य हो।’

छोटो अवधिमा दुईपटक सरकारमा गए पनि रास्वपाले गतिलो प्रदर्शन गर्न सकेन।

२० सिट जित्नेबित्तिकै २०७९ पुस ११ मा सरकारमा गएर एक महिना काम गरेको रास्वपाले फेरि २०८० फागुन २२ मा दोस्रो पटक सरकारमा गएको थियो।

सरकारमा नजान नेताहरूले दबाब दिए पनि सभापति रवि लामिछाने रोकिएनन्। सरकारमा गएर कायापलट गर्ने उद्घोष गरे पनि अझ बदनामी मात्र बढेको भन्दै पार्टीका नेताहरू नै खुसी छैनन्। बरु यसबाट कांग्रेस–एमाले लगायतका दलले हेप्ने अवसर पाएको उनीहरूको ठम्याइ छ।

यही कारण दुई दलसँग बलियो प्रतिस्पर्धा गर्न रास्वपाले संगठन विस्तारलाई प्राथमिकता दिएको छ। पार्टी गठनको केही महिना यो प्रक्रिया अघि बढाए पनि बीचमा रोकिएको थियो। अब संगठन विस्तारलाई तीव्रता दिने आचार्यको भनाइ छ।

‘देशलाई माया गर्ने साथीहरूलाई जोड्ने प्रयास जहिले पनि हुन्छ। सामूहिक लडाइँ गर्नुपर्ने ठाउँमा जोडिनैपर्ने साथीहरू जोड्छौँ,’ उनले भने, ‘पार्टीको सबलीकरण गर्नैपर्छ।’

रास्वपाले आगामी प्रतिनिधि सभाको चुनावलाई मुख्य ध्यान दिएको छ। २०८० वैशाखमै भएको उपचुनावबाट यो अभियानको थालनी अघि बढेको आचार्य दाबी गर्छन्। 

‘मिसन ०८४ हाम्रो सुरु भइसकेको छ र यो हाम्रै हो, ठूलो यात्रा सुरु गर्दा केही अप्ठ्याराहरू आउनसक्छ। तर, न पार्टीका साथीहरू आत्तिनुभएको छ, न अरु। यो हिजो, आज र भोलिपनि हाम्रै हो,’ उनले भने।

प्रतिपक्ष कित्तामा पुगेपछि सदनमा चर्काे आवाज उठाउन २१ जनै सांसदलाई रास्वपाले निर्देशन दिइसकेको छ। रास्वपाले मुद्दा मिल्नेहरूबीच सदनमै हातेमालो गर्नेछ।

‘संसदमा पनि खरो रूपमा उत्रन्छौँ। जनताका पक्षमा कुरा उठाउँछौँ,’ उपनेता श्रेष्ठले भने, ‘सरकारले अलपत्र छोडेका काम सम्पन्न गर्न दबाब दिन्छौँ। शरणार्थी प्रकरणको निष्पक्ष छानबिन, सुनकाण्डको छानबिन, गिरीबन्धु टी स्टेटमाथि मुख्य खबरदारी हुनेछ। संसद् भनेको जनताको आवाज उठाउने थलो हो, संसदीय मर्यादामै बसेर खबरदारी गर्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .