ad ad

राजनीति


संसद विघटन हुँदैन, मध्यावधि चुनाव हल्ला मात्रः गृहमन्त्री थापा

संसद विघटन हुँदैन, मध्यावधि चुनाव हल्ला मात्रः गृहमन्त्री थापा

वाशुदेव मिश्र
फागुन १७, २०७६ शनिबार १३:२९,

गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापाले मध्यावधि निर्वाचनको आँकलन हल्ला मात्रै भएको बताएका छन्।

नेकपा भित्रको विवादका कारण देश मध्यावधिमा जाने चर्चा भइरहेको बेला गृहमन्त्री थापाले भने, ‘कतिपय राजनीतिक विश्लेषकले यो अनुमान गरेका छन्। पार्टीको विवाद बढेर सदन विघटन हुने र मध्यावधिमा जान सक्ने कुरा अनुमान मात्रै हो। त्यसो हुँदैन।’

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई पोखरामा शनिबार सम्वोधन गर्दै गृहमन्त्री थापाले केही दिनभित्रै नेपालको नक्सा सार्वजनिक हुने दावी गरे।

सीमा विवाद अन्त्यका लागि भारतीय पक्ष पनि सकारात्मक भएको बताउँदै उनले विवाद टुंग्याउन अनौपचारिक प्रक्रिया चलेको र आन्तरिक तयारी लगभग पूरा भएको जनाए। ‘छिट्टै कालापानी क्षेत्र समेत समेटेर नक्सा जारी हुन्छ’, उनले भने। उनले सीमा सुरक्षाको लागि ८७ बाट बढाएर १०४ वटा सीमा चेकपोस्ट खडा गरिएको जानकारी पनि दिए।


उनले हाल नेकपामा देखिएको विवाद सामान्य भएको जिकिर पनि गरे। ‘राष्ट्रियसभमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय पार्टीले गरेको छ,’ उनले भने, ‘पठाउने सन्दर्भमा प्रक्रियागत कानूनी बिषयमा मन्त्रिपरिषद्ले सिफारिस गर्ने हो। मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गर्छ। यो विवादभन्दा पनि विवादास्पद बनाइएको हो।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशअन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृणीकरण गर्दै जनता केन्द्रित प्रहरी सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताए।

गृहसचिव महेश्वर न्यौपानेले पेशागत अभिवृद्धि, उच्च व्यवसायिकता प्रदर्शन, जिम्मेवारीमा संवेदनशिलताप्रति ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिए।

दुईदिने गोष्ठीमा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिव किरणराज शर्माले समग्र प्रदेशको र गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो जिल्लाअन्तर्गत शान्ति सुरक्षाका सवालमा भए÷गरेका क्रियाकलाप, जिल्लाको शान्ति सुरक्षाको अवस्था, देखा परेका सम्भावित चुनौतीहरु एवं गर्नुपर्ने अन्य थप गतिविधिहरुका विषय प्रस्तुत गरेका थिए।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा काननू मन्त्री हरिबहादुर चुमानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्याल, नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक गणेश अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल, नेपाल सरकार गृह मन्त्रालयका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राईलगायत गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .