ad ad

राजनीति


वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्ता नियुक्त

वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्ता नियुक्त

नेपालखबर
साउन २, २०८१ बुधबार १६:४, काठमाडौँ

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ।

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको कार्यकालको अन्त्यतिर पनि बडाललाई महान्यायाधिवक्ता बनाएका थिए।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए। २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए। 

उनको पहिलो कार्यकाल संसदमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको बचाउ गर्दै बितेको थियो। ओलीले पहिलोपटक संसद विघटन गर्दा एमाले नेतासमेत रहेका वरिष्ठ अधिवक्ता अग्नि खरेल महान्यायाधिवक्ता थिए। उनले बीचैमा राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए। 

बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि सक्रिय थिए। असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए।



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .