ad ad

राजनीति


शिक्षामा विद्या : उपप्राध्यापकको जागिर छाडेर होमिएकी थिइन् राजनीतिमा

शिक्षामा विद्या : उपप्राध्यापकको जागिर छाडेर होमिएकी थिइन् राजनीतिमा

नेपालखबर
असार ३१, २०८१ सोमबार १६:३२, काठमाडौँ

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट निर्वाचित सांसद विद्या भट्टराईले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। भट्टराई पहिलोपटक मन्त्री बनेकी हुन्।

यसअघि उनी प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सदस्य थिइन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नीसमेत रहेकी भट्टराई कास्की-२ बाट दुईपटक प्रत्यक्ष निर्वाचित भइसकेकी छन्। 

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्रधाध्यापक जागिर छाडेर सांसद बनेकी भट्टराई राजनीतिमा भने विद्यार्थी जीवनदेखि नै जोडिएकी हुन्। 

२०४६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेकी उनी अनेरास्ववियु महिला विभाग प्रमुख भएकी थिइन्।

२०५५ सालमा अनेरास्ववियूको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेर काम गरेको अनुभव उनीसँग छ।

भट्टराई पार्टीको काठमाडौँ जिल्ला सदस्य र उपत्यका महिला कमिटी सचिव पनि भइन्।

उनले समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन गरेकी छन्।

विद्याका श्रीमान्‌ रवीन्द्र अधिकारीको २०७५ फागुन १४ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएको थियो। श्रीमान्‌को निधनपछि रिक्त भएको कास्की-२ बाट एमालेले ०७६ को उपचुनावमा भट्टराईलाई उम्मेदवार बनाएको थियो।

उपचुनावमा विजयी भएकी उनी ०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भइन्।

०७९ असारमा भट्टराईलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो। तर, उनले सो निर्वाचनमा पराजय भोगिन्।

२०७९ को निर्वाचनमा एमालेबाट प्रत्यक्ष चुनाव जित्ने चार महिलामध्ये विद्या एक हुन् । 

मंसिरको निर्वाचनलगत्तै बनेको प्रचण्ड नेतृत्वको सरकारमा विद्यालाई परराष्ट्रमन्त्री बनाउन पनि खोजिए पनि उनले त्यस मन्त्रालयमा जान रुचाइनन्। 

अहिले पनि विद्या मन्त्री बन्ने दौडमा थिइनन्। नयाँ सरकार गठन हुने तयारीका बीच नजिकका केहीसँग उनले भनेकी थिइन्, ‘मेरो रुचि भनेको शिक्षा हो। मैले काम गर्न सकेँ भने पनि शिक्षामै केही गर्न सक्छु। तर मैले त्यो मन्त्रालय पाउँदिनँ होला। त्यो नभइसकेपछि मलाई अरूमा खासै रुचि छैन।’

आफू मन्त्री बन्ने दौडमा नरहेको विद्याको सन्देश पाइसकेपछि एमाले महासचिव शंकर पोखरेलले उनलाई सोधे, ‘मलाई मन्त्री बनाइदिनुस् भन्नेको लर्को हुन्छ, तपाईँचाहिँ मन्त्री बन्नुस् भन्दा पनि किन यस्तो?’

उनले त्यही कुरा महासचिव पोखरेललाई सुनाइन्, जुन अरूलाई भन्ने गरेकी थिइन्।

अन्ततः विद्याले आफ्नो विषय मिल्ने र रोजेकै मन्त्रालय पाइन्। 

बौद्धिक र शालीन नेतृको रूपमा चिनिने विद्याले लामो समय शिक्षा क्षेत्रमै बिताएकी छन्। अर्थात् शिक्षा बुझेको नेतृत्व शिक्षा मन्त्रालयले पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .