ad ad

राजनीति


एमाले अध्यक्ष ओली आज चौथोपटक प्रधानमन्त्री बन्दै

एमाले अध्यक्ष ओली आज चौथोपटक प्रधानमन्त्री बन्दै

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८१ आइतबार ७:६, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त हुँदैछन्।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिअनुसार ओलीले आज चौथोपटक मुलुकको प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेका हुन्। 

कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न संसदमा रहेका दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए। राष्ट्रपतिले दाबी पेस गर्न दिएको समयावधि आइतबार साँझ ५ बजे सकिँदै छ। 

आइतबार साँझ ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। आज प्रधानमन्त्री नियुक्त भएपछि सम्भवतः सोमबार प्रधानमन्त्रीको शपथग्रहण हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार साझैँ प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए। 

सत्ता सहयात्रा गर्न लागेका संसदको पहिलो र दोस्रो ठूला दल कांग्रेस र एमालेले आजै सबै मन्त्रीको टुंगो लगाउने जनाएका छन्। 

यसअघि ओली २४ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। 

त्यतिबेला ओली नेत्वको सरकार ९ साउनमा ढलेको थियो। ०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धनको बलमा ओली ३ फागुन ०७४ मा दुई तिहाइ सांसदको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री भएका थिए। 

नेकपाभित्रको विवाद चुलिँदै जाँदा र पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा संसद् विघटन असंवैधानिक भन्दै पुनर्स्थापना गरिदियो।

लगत्तै, २३ फागुनमा सर्वाेच्चले एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला गर्‍यो। त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो। दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाएका थिए। 

ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले साेही दिन ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। यद्यपि, त्यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत सदस्याकाे समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए।

राष्ट्रपतिबाट तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली सत्ताच्युत भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .