ad ad

राजनीति


मेरो सफलता नै सरकार ढाल्ने आधार बन्यो : प्रधानमन्त्री

‘बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोज्न थालेपछि शक्ति सन्तुलन खल्बलियो’
मेरो सफलता नै सरकार ढाल्ने आधार बन्यो : प्रधानमन्त्री

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार २८, २०८१ शुक्रबार १३:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले भ्रष्टाचार गर्नेहरूसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे। 

‘वस्तुतः आज सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वनापूर्ण आधार बन्यो। हामीले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्र भनेनौं, समाजवादउन्मुख राष्ट्र निर्माणको पनि संकल्प ग¥यौँ। यसको केन्द्रीय सिद्धान्त जनताको सम्प्रभुता हुनुपर्ने हो। बाँकी सबै जनताका सेवक हुनुपर्ने हो । तर, व्यवहारमा त्यो भएन। भीआईपी कल्चर सुरू भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा वर्गले सरकारी जग्गा लुटे पनि हुने भयो। तस्करी गरेपनि हुने भयो। कानुन मिचे पनि हुने भयो। यसले आम जनतामा घृणा र आक्रोश बढायो र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था पैदा भयो। त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा, प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाइसकेका थिए। तर मैले त्यो वर्गसँग सम्झौता गरिनँ।’

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरु डराएको पनि बताए। बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको उनको भनाइ थियो। 

‘म जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने जुन परिस्थिति आज बन्यो, त्यो सरकारले कानूूनको पालना गराउने, विधिको शासन सुरू गर्ने र सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिवद्धताका कारण बन्यो। सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ। सरकारको सुशासन अभियानले हिजोसम्म कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो। त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो,’ उनले भने, ‘एउटा समूह डरायो। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरू भयो, अर्को समूह डरायो। भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरू भयो, अर्को समूह डरायो। बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिएजस्तो भयो। त्यही वर्गले देशको पहिलो र दोश्रो दल मिलायो। यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो। जनतालाई मेरो अपील छ, जाग्नुस् र तपाईहरूले पनि अब आफ्नो शक्ति देखाउनुस्। जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ।’

सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गर्दै उनले जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरूको हातमा जाने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .