आफ्नै निवास ललितपुरको खुमलटारमा झण्डै दुईघण्टा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेपछि हेलिकप्टरबाट चितवन पुगेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय कार्यान्वयन भएरै छाड्ने दाबी गरे।
शुक्रबार बिहान खुमलटारको बैठकले पनि गौतमलाई नै राष्ट्रियसभाको एक सिटमा मनोनित गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई जोड दिने निर्णय भएको प्रचण्डको संकेत थियो।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाकै शैलीमा केहि समययता आफ्नै निर्वाचन क्षेत्र पुगेर प्रचण्डले राजनीतिका महत्वपूर्ण सूचना सार्वजनिक गर्न थालेका छन्। शुक्रबार पनि उनले खुमलटारमा बसेको चार नेताबीचको सहमतिकै आधारमा चितवनमा पत्रकारसँग बोलेको उनीनिकट नेताहरुको भनाई छ। खुमलटारमा गौतम, खनाल र नेपालसँगको सहमतिपछि प्रचण्डले राष्ट्रियसभा सदस्य पदमा २१ गते गौतमले नै शपथ लिने घोषणा पनि गरेका छन्। उनको जोड छ, यसमा अध्यक्ष तथा प्रधानमन्त्री पनि सहमत छन्। प्रचण्डले दुईदिनमैं याे सबै प्रष्ट हुने बताए।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘यसलाई सामान्य रुपमा नै लिनुपर्ने हुन्छ, तपाईहरुले थाहा पाइसक्नुभएको छ, अस्ती (बुधबार) हामी सचिवालयको बैठक बसेर राष्ट्रियसभामा एउटा सिट जुन वाँकी छ, त्यो क्याविनेटबाट सिफारिस गर्ने, राष्ट्रपतिबाट मनोनित गर्ने त्यसमा सचिवालयको सर्वसम्मत निर्णयअनुसार वामदेव गौतमलाई पठाउने भन्ने सुझाव दिइएको छ सरकारलाई। त्यही विषयलाई लिएर थोरै छलफल चलेको मात्रै हो, अन्ततः यो हल हुन्छ।’
भरतपुर विमानस्थलमा प्रचण्ड र सञ्चारकर्मीबीच भएको प्रश्नोत्तरः
यो आधिकारिक निर्णय हो?
आधिकारिक निर्णय भएको हो र यो निर्णय पनि सर्वसम्मत रुपले नै भएको हो। जुन कुरा महासचिव विष्णु पौडेलले पनि सार्वजनिक गरिसक्नुभएको छ र पार्टीका प्रवक्ता (नारायणकाजी श्रेष्ठ) ले पनि सार्वजनिक गरिसक्नुभएको छ।
तर, प्रधानमन्त्रीले त सचिवालय निर्णय मान्दिन भन्नुभयो नी त?
प्रधानमन्त्रीजीले मान्नुहुन्छ। तपाईहरुले एकदुई दिनमा थाहा पाउनुहुन्छ। उहाँले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ।
तर, अर्थमन्त्रीले त २१ गते आफूले नै शपथ खाने बताइसक्नुभयो?
अहिले अर्थमन्त्री हुनको लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन। हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाको लागि राष्ट्रियसभामा नरहे पनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ।
भनेपछि सँगसँगै हुन्छ?
अब त्यो प्रधानमन्त्रीको हातको कुरा हो, उहाँ के चाहनुहुन्छ भन्ने तर, राष्ट्रियसभाको सिटमा चै वामदेव गौतम जी नै जानुहुन्छ।
संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने चर्चा पनि थियो?
अब त्यो शर्त चै हट्यो। संविधान संशोधनको शर्तमा मात्रै राष्ट्रियसभामा जाने नभएर संविधान संशोधन आफ्नो प्रक्रियामा हुँदै जाने कुरा हो र राष्ट्रियसभामा चाहिँ अहिले नै जाने भनेर हामीले अस्तिको बैठकमा त्यसरी निर्णय गर्यौं।
राष्ट्रियसभाको संख्या थप गर्ने कुरा चाहिँ के हो?
अहिले त्यस्तो केही छैन, हामीले त्यस्तो कुनै निर्णय गरेका पनि छैनौं।
प्रधानमन्त्रीले सिफारिस गर्नुभएन भने के हुन्छ?
उहाँले सिफारिस नगर्ने कुरा म कल्पना पनि गर्न सक्तिन। उहाँले गर्नुहुन्छ। मैले त्यत्ति बुझेको हो। गर्नुभएन भने के? भन्ने कुरातिर अहिले म जानै चाहन्न। मलाई विश्वास छ उहाँले, पार्टीले उहाँको र मेरो दुबैको अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्तिन। कसैले कल्पना गर्नु पनि हुँदैन।
यहाँले यसो भन्ने प्रधानमन्त्रीले गर्दै गर्दिन भन्ने अनि पार्टीमा बबण्डर त मच्चिन्न?
उहाँले गर्नुहुन्छ २१ गतेसम्म तपाईहरुले देख्न सक्नुहुन्छ। मैले भनिहाले नी।
व्यवसायीहरुसँग यहाँको बैठक बस्यो अनि वामदेवलाई अगाडि सारियो भन्ने कुरा के हो?
त्यो कपोलकल्पित हल्ला मात्रै हो। कुनै बैठक मेरो कसैसँग भएको छैन। मिडियामा जे प्रचार गरिएको छ त्यो नियोजित छ, भ्रामक छ कपोलकल्पित छ। त्यस्तो बैठक कहिँ भएको या डिनर गरेको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्नेछु।
वामदेवलाई जनताले हराए तर पार्टीले लाने भयो नी?
त्यस्तो त नेपालमा मात्रै होइन संसारभरिको इतिहासमा पनि हुन्छ। पहिला हराएकालाई मैले धेरै अगाडि ल्याएर के–के गरेँ भन्ने तपाईहरुले थाहा पाउनुभएकै छ। त्यसकारण त्यो इतिहासतिर जानुपरेन, त्यो हुन्छ चुनाव हार्ने र जित्ने भन्ने धेरै कारणले काम गरेका हुन्छन्।
देउवासँग यहाँले भेट्नुभयो रे त्यसैले प्रधानमन्त्रीले हिजो कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालालाई भेट्नुभयो। के हो यो विषय?
होइन यो विषय, देउवाजीसँग प्रधानमन्त्रीले भेट्ने, मैले भेटने, शेखरसँग प्रधानमन्त्री मैले भेट्ने यो सामान्य राजनीतिक प्रक्रिया हो। यो चलिराख्छ। आशंकित हुनुपर्ने कारण नै होइन। स्वभाविकरुपले भेटघाट भइराख्छ। हामी तीनजना देउवा, प्रधानमन्त्री र मेरो सयुंक्तरुपमा पनि धेरैचोटी मिटिङहरु भएका छन्। यो सामान्य प्रक्रियामात्रै हो। त्यसमा आशंका गर्नुपर्ने केही कारण छैन।
वामदेव गौतम हारेर पनि लानैपर्ने, कति शक्तिशाली? किन हो?
त्यस्तो पनि होइन। सचिवालयका सदस्यहरुमध्ये अब वामदेवजी मात्रै एक जना संघीय संसदमा हुनुभएन।
अस्ती नै किन लानुभएन त?
अस्ती नै लान सकिन्थ्यो। त्यो बेला वामदेव जी तयार हुनुभएन, अहिले तयार हुनुभयो, लाने भइयो।
भिडियाे:

प्रतिक्रिया