ad ad

राजनीति


संविधान संशोधनबारे ओलीले भनेः यो–यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं

संविधान संशोधनबारे ओलीले भनेः यो–यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं

एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली


नेपालखबर
असार २६, २०८१ बुधबार १३:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस-एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधानका कुन–कुन विषयमा संशोधन गर्ने भन्ने विषय पनि दुई दलबीचमा नटुंगिएको स्पष्ट पारे।

‘अनुभवहरुले के कस्ता परिवर्तन, परिमार्जन र सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो,’ ओलीको भनाइ छ, ‘यो-यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ। कसैको नेतृत्वमा आयोग बनेको छैन। कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन। मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने भनेको हो।’ 

भिडिओ

ओलीले कांग्रेस र एमाले मिल्दा  देश अराजकतारित जाने भनेर भ्रम फैलाइएको समेत दाबी गरे। उनले प्रदेशहरूमा महिनैपिच्छे सरकार फेरिने र भ्रष्टाचार बढ्ने स्थिति आएको समेत बताए।

‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो,’ ओलीले भने, ‘विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले भ्रष्टाचार, अस्थिरतामा  जाने काम भयो।’

संघीयतालाई सफल बनाउनुपर्ने आवश्यकता भएको भन्दै खाली संविधानप्रति ओठे भक्ति देखाएर मात्रै नपुग्ने समेत उनको भनाइ छ। ‘संघीयतालाई सफल बनाउने दिशामा जानुपर्छ, त्यो पक्षमा विचार नै नगर्ने, खाली संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन सक्दैनन्,’ ओलीले भने।

संविधान गतिशिल कुरा भएको भन्दै त्यसलाई समयानुकूल परिमार्जन गर्दै जानुपर्नेमा उनले जोड दिए।

‘संविधान गतिशील कुरा हो, समाजको पथ प्रदर्शक हो,’ ओलीले भने, ‘संविधानको समयानुकूल रुपमा परिमार्जित हुँदै जानुपर्छ। त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .