ad ad

राजनीति


देशका समस्या सम्बोधन गर्न कांग्रेस—एमाले एक भयौँ : सांसद महत

देशका समस्या सम्बोधन गर्न कांग्रेस—एमाले एक भयौँ : सांसद महत

नेपालखबर
असार २५, २०८१ मंगलबार १८:४१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक भएको बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताए। 

‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन। आम जनतालाई पनि विश्वास दिन सकेन। कुरा धेरै भए, काम उल्टो भयो। त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ,’ उनले भने, ‘बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ। त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हौँ।’

वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको बताउँदै उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको जिकिर गरे।

‘हाम्रो देशमा सबैलाई जिम्मेवारी दिउँ भन्ने मानसिकता छ। यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्त्व दिनुपर्छ। सबैकुरालाई ध्यानमा राखेर सभापतिज्युले निर्णय लिनुहुनेछ। विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्,’ उनले भने, ‘त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ। दुवै दलले छलफल गरेर सहमति बन्छ। सबैलाई मान्य हुने निष्कर्षमा हामी पुग्नेछौँ। असारमै सबै भन्ने होइन। काम पहिल्यै भइसकेको हुन्छ, तर त्यसको बिल जुटेर सम्बन्धित मन्त्रालयबाट अर्थ मन्त्रालयमा आइपुग्दा अन्तिम समयमा हुने प्रचलन छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .