ad ad

राजनीति


सत्ता समीकरण फेरबदलले ७ राजदूतको नियुक्ति अन्योलमा, संसद सचिवालयमा पत्रै पुगेन

सत्ता समीकरण फेरबदलले ७ राजदूतको नियुक्ति अन्योलमा, संसद सचिवालयमा पत्रै पुगेन

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार १५:६, काठमाडौँ

सत्ता गठबन्धनमा आएको फेरबदलसँगै सरकारले सिफारिस गरेका नयाँ राजदूतको नियुक्ति अन्योलमा परेको छ। सरकारले ७ असारमा ८ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

नेकपा एमालेको कोटाबाट ५, जनता समाजवादी पार्टी (अशोक राई) बाट २ र नेकपा माओवादी केन्द्रबाट १ जना सिफारिस भएका थिए। रास्वपाले आफ्नो कोटाबाट दुई राजदूत सिफारिस गर्न बाँकी थियो।

वर्तमान सत्ता गठबन्धनकै प्रमुख घटक नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने गरी सोमबार मध्यरातमा भएको सहमतिले  राजदूतको नियुक्ति पक्रिया अगाडि बढ्ने या नबढ्नेबारे अन्योल बढेको हो।

नेकपा एमालेको परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले अब नयाँ सरकारले लिने निर्णयमा नै उनीहरूको नियुक्ति निर्भर रहने बताए। ‘नयाँ सरकारले जे गर्ने भन्छ, त्यही हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘पहिलेकै सरकारको निर्णयलाई निरन्तरता दिने भन्यो भने पहिलेकाले नै निरन्तरतता पाउँछन्। त्यसमा फेरबदल गर्ने भन्यो भने फेरबदल हुन्छ।’

सरकारबाट सिफारिस उम्मेदवार संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्छन्।

तर, सरकारले सिफारिस गरेका राजदूतको नाम संसदीय सुनुवाइका लागि संसद सचिवालयसम्म अझै पुगिसकेको छैन। ‘सुनुवाइका लागि अहिलेसम्म पत्र संसद सचिवालयमा आएको छैन,’ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नेपालखबरसँग भने, ‘पत्र नआउँदासम्म सुनुवाइको प्रक्रिया सुरु हुँदैन।’

सरकारले जेठ २४ गते भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसपछि रिक्त रहेका ११ मध्य ८ देशका लागि सरकारले नाम सिफारिस गरेको थियो। 

एमालेको कोटाबाट अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना र दक्षिण कोरियाका लागि सुशील प्याकुरेल सिफारिस भएका थिए। यद्यपि प्याकुरेलले भने पद अस्वीकार गरिसकेका छन्।

त्यस्तै जनता समाजवादीको कोटाबाट साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका थिए। माओवादीको कोटाबाट बेलायतका लागि विजन पन्तको नाम सिफारिस भएको थियो।

रास्वपाले आफ्नो भागमा परेका दुई राजदूतको नाम सिफारिस गर्न मापदण्ड बनाउँदै अनलाइन आवेदन आह्वान गरेको थियो। राजदूत बन्न रास्वपामा २४० आवेदन परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .