ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्ना छोराछोरीलाई स्नातक तह (बीए) पछि आफूले खर्च दिएर नपढाउने घोषणा गरेका छन्।
मन्त्री पुनले मंगलबार रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
मन्त्री पुनले स्नातक तहपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको उल्लेख भन्दै त्सपछि आफूले खर्च नदिने बताएका हुन्।
‘मेरा छोरा र छोरी (एक छोरा र एक छोरी)लाई बीएसम्म पढाउँछु’, उनले भने, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ। म आर्थिक दायित्व लिन सक्दिनँ आफैं कमाएर पढ्नू भनिसकेको छु।’
मन्त्री पुनले स्नातक तह अध्ययन गरेका विद्यार्थीले आफैं काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु बिडम्बना भएको बताए। उनले आफूले जस्तै छोराछोरीलाई आफैं कमाएर पढ्नका लागि प्रशिक्षित गर्न अभिभावकलाई आग्रह गरे।
विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गरे।
‘१८ वर्ष पुगेको हरेक मानिस दक्ष जनशक्ति हो’, उनले भने, ‘१८ वर्षपछिकाले बाबुआमाको कमाई खाने होइन, आफैं कमाएर खानुपर्छ।’
आफू एक कक्षामा भर्ना हुँदा गाउँबाट डेढ घण्टा खाली खुट्टा पैदल हिंडेर स्कुल जाने गरेको स्मरण गर्दै मन्त्री पुनले अहिले टोलटोलमा स्कुल रहेको भन्दै त्यसलाई परिवर्तन र क्रान्तिसँग तुलना गरे। गलत शिक्षा नीतिका कारण विद्यालय र क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने थलोका रुपमा रुपान्तरण भएकाले वर्तमान सरकारले शिक्षालाई व्यवहार, सीप, श्रम र दक्षतासँग जोडेर शिक्षा नीति विस्तार गरेको मन्त्री पुनको भनाइ थियो।
‘सरकारले व्यवहारिक, वैज्ञानिक र जीवनोपयोगी शिक्षामा जोड दिएको छ’, मन्त्री पुनले भने, ‘अब स्कुल र क्याम्पसहरुबाट बेरोजगार होइन, देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ।’
उनले विद्यालयस्तरमै प्राविधिक धारको शिक्षामा जोड दिइएकाले विगतको जस्तो अवस्था अब नरहने उल्लेख गरे। फरक प्रसंगमा मन्त्री पुनले केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकको समृद्धिलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

प्रतिक्रिया