ad ad

राजनीति


संसद्‌मा खोजी हुँदा कहाँ थिए युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ?

संसद्‌मा खोजी हुँदा कहाँ थिए युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ?

सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका मन्त्री श्रेष्ठ त्यतैबाट कैलालीको धनगढी गएका थिए (तस्बिर : मन्त्री श्रेष्ठको फेसबुकबाट)


नेपालखबर
जेठ २९, २०८१ मंगलबार १६:५१, काठमाडौँ

संसद्‌मा आज (मंगलबार) बाट आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएको छ। प्रतिनिधिसभा बैठकमा सांसदहरूले आजको कार्यसूचीमा रहेका मन्त्रालयहरूको बजेटमाथि छलफल चलाइरहेका छन्। 

संसद् सचिवालयको कार्यसूचीमा पहिलो नम्बरमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। 

त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची थियो। 

मंगलबार आकस्मिक र शून्य समयको छलफल सकिँदासम्म युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा बैठकमा पुगेका थिएनन्। 

मन्त्री श्रेष्ठलाई बैठकमा नदेखेपछि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले खोजी गरे। मन्त्री श्रेष्ठलाई बैठकमा नदेखेपछि खतिवडाले आपत्ति जनाए। 

‘सम्बन्धित मन्त्रीको उपस्थित हुने व्यवस्था गरिएकोमा खेलकुदमन्त्री उपस्थित भएको देखिएन, त्यसकारण बैठक स्थगित गरेर बैठक सञ्चालन गरियोस्,’ उनले भने। 

सांसद खतिवडाले आपत्ति जनाएसँगै केहीबेर सभामुख देवराज घिमिरेले नजिकै भएका कर्मचारीसँग छलफल गरे। 

त्यतिबेला रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खतिवडातर्फ हेर्दै केही भनिरहेका थिए। उनले घडी हेरेर ‘केहीबेरमा आइपुग्ने’ भन्दै इसारा गरिरहेका थिए। 

त्यतिकैमा सभामुख घिमिरेले आजको कार्यसूचीबाट युवा तथा खेलकुद मन्त्रालयको छलफल हटाइएको जानकारी संसद्लाई गराए। 

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार, मन्त्री श्रेष्ठ त्यतिबेला धनगढी विमानस्थलबाट काठमाडौँका लागि उडेका रहेछन्। सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका मन्त्री श्रेष्ठ त्यतैबाट कैलालीको धनगढी गएका थिए। 

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निरीक्षण, धनगढी उप महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्स ग्रास रूट क्रिकेटको उद्घाटन लगायतमा उनी व्यस्त थिए। 

निर्धारित कार्यक्रम सकेर मन्त्री श्रेष्ठ मंगलबार बिहान १०ः २० बजे काठमाडौँका लागि उडान थियो। मन्त्री श्रेष्ठको सचिवालयका एक सदस्यका अनुसार, उडान ‘डिले’ भएपछि मन्त्री श्रेष्ठ धनगढीबाट ११ बजेमात्रै उडेका थिए।

‘उहाँ धनगढी हुनुहुन्थ्यो, १० २० मा उडान तालिका थियो। ढलो भएर ११ बजेमात्रै जहाज उड्यो,’  सचिवालयका ती सदस्यले भने, ‘उहाँ आउनेवित्तिकै संसद् जानुभएको थियो। तर त्यहाँ पुग्दा छलफल नै कार्यसूचीबाट हटाइएको रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .