ad ad

राजनीति


हेलम्बु गाउँपालिका उपाध्यक्षको चेतावनी : माग पूरा नभए काठमाडौँमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिका उपाध्यक्षको चेतावनी : माग पूरा नभए काठमाडौँमा पानी पठाउँदैनौँ

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १४:२९, काठमाडौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु-मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौँ नपठाउने चेतावनी दिएकी छिन्। 

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु-मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म पानी नपठाउने बताइन्। 

सरकारले बारम्बार हेलम्बुवासीका मागहरूको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौँ पठाउने उनले अडान लिइन्। 

‘हामी हरेक वर्ष पीडामा बस्न सक्दैनौँ। हामीसँग समन्वय गरेर हाम्रो माग सम्बोधन गर्ने की नगर्ने? अबको बजेटमा सामेल गर्ने की नगर्ने? वर्षा लाग्यो अब हामी स्कुल जान सक्दैनौँ भन्ने त्यहाँ विद्यार्थीलाई छ। यो हिउँदरभर नेपाल सरकार, प्रदेश सरकार के हेरेर बस्यो? हामीले त माग गरिरहेका थियौँ। हामीले बाटोघाटो, वर्षामा कठिन छ भनेर माग गरिरहेका छौँ। हामीलाई प्रदेश र संघ सरकारले किन बेवास्ता गरिरहेको छ। काठमाडौँवासीले रित्तो गाग्री सडकमा आएर देखाउने बित्तिकै पानी पाउनु हुन्छ भने हामीले पनि हाम्रो माग सम्बोधन गरेपछि मात्रै पानी पठाउँछौँ भन्नेकुरा यो फोरमबाट एडिबीका प्रतिनिधि र नेपाल सरकारले आवाज सुनोस्,’ उनले भनिन्।

स्थानीहरूले वर्षा याममा आफूहरुलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भनेपनि सरकारले बेवास्ता गरिरहेको अरोप लगाइन्।

उनले अबको बजेटमा सरकारले हेलम्बु-मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताइन्। एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको उनले बताइन्।

‘हामी त्यहाँ थोरै पानीको लेभल बढ्यो भने पनि हामी त्यहाँ घर, स्कुल गुमाउनुपर्ने अवस्था छ। सबैभन्दा पीडित अवस्थामा म आफैँ पनि छु। मेरो बच्चाले अहिले एक कक्षामा पढ्छ, ममी पानी आयो त, हामी आज रातभर सुत्न सक्छौँ? कहाँ जाने? यो हेलम्बु, मेलम्ची, पाँचपोखरीका बच्चाहरूमा यो कन्सेप्ट छ,’ उनले अघि भनिन्, ‘पानी आउने बित्तिकै बाढी आउँछ भन्ने छ। यो नेपाल सरकारले स्थानीय पाठ्यक्रममा पनि समावेश गरेका छौँ। विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी छ। खानेपानी बोर्डबाट तत्काल १५ करोड जति पैसा विनियोजन भएर केही काम गरेका पनि छौँ। आन्तरिक श्रोतमा हामी करोड पनि पुग्न सक्दैनौँ। एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा नै खर्च गरिरहेका छौँ। 

यता राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा.गंगालाल तुलाधरले हेलम्बु—मेलम्चीवासीका जायज मागहरू पनि सरकारले पूर्ण रुपमा गर्न नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .