ad ad

राजनीति


बालेनलाई ओलीको प्रश्न– छिमेकीसँग चित्त बुझेन भने उसको ढोकामा फोहोर खन्याउने?

बालेनलाई ओलीको प्रश्न– छिमेकीसँग चित्त बुझेन भने उसको ढोकामा फोहोर खन्याउने?

नेपालखबर
जेठ १९, २०८१ शनिबार २०:२३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सडक विभागको गेटमा लगेर फोहोर खन्याएको विषयमा टिप्पणी गर्दै महत्त्वपूर्ण पोस्टमा बसेको मान्छेले त्यस्तो गर्न नहुने बताएका छन्। 

शनिबार राष्ट्रिय युवा संघ, नेपालको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुँदा पनि युवाहरू झोक्राएर बसेको बताए। 

‘कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ, कसैले गलत गर्‍यौं भन्न सक्दैन। के हालत होला यो? यो गलत हो। यस्ता क्रियाकलाप हुन हुँदैन,’ ओलीले भने, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया देखाउने तरिका भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर लगेर उसको ढोकामा राखिदिने? यो कुनै सभ्यता हो?’

उनले यस्ता कुराहरूमा युवा पुस्ता प्रतिवादनमा उत्रन सक्नुपर्ने समेत बताएका छन्। काठमाडौँ महानगरपालिकाका मेयर शाहले गत शनिबार सडक विभागको गेटमा एक ट्रक धुलो खन्याइदिएका थिए। खासगरी न्युरोड क्षेत्रमा सडक विस्तारको काम रोकेपछि विभागसँग रुष्ट बालेनले कलंकी–महाराजगञ्ज सडकको प्रसंग झिक्दै फोहोरको डंगुर खन्याएका थिए। 

जसलाई विभागले आपत्ति जनाउँदै न्युरोडको काम कानुनसम्मत नभएको भन्दै रोक्न पत्र लेखेको छ। उता, मेयर शाहले भने सडक विभागले नै कानुनसम्मत पत्र नलेखेको भन्दै कारबाहीमा उत्रने चेतावनी दिएका छन्।

ओली सोही घटनाप्रति इंकित गर्दै युवा संघको कार्यक्रममा भने, ‘उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्या बात लेख्छ, अनि अरु चुप लागेर बस्छन्। झोक्राएर बस्छन्। यति पनि सत्य भन्न सकिँदैन?’

उनले बालेनको यो कदम आधुनिक समाजलाई सुहाउँदो नभएको पनि बताएका छन्। 

‘यो सभ्य तरिका भएन। यो आधुनिक समाजलाई सुहाउँदो तरिका भएन। यो महत्त्वपूर्ण पोस्टमा बसेका मान्छेले गर्न मिल्ने व्यवहार होइन। एउटा लाचरीलाई फाइदा लिएर एनार्किजमको बोलवाला भइरहेको छ,’ ओलीले भने, ‘हामीले हाम्रो समाजलाई डेमोक्रेसीमा अगाडि बढाउँछौं, एनार्किजमलाई होइन। यी सबै पछ्यौटे चिन्तन हुन्। मोनार्की र एनार्की समय सान्दर्भिक हुनै सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .