ad ad

राजनीति


यी ७ सांसदले गर्दैछन् सहकारीको छानबिन, सूर्य थापा सभापति

यी ७ सांसदले गर्दैछन् सहकारीको छानबिन, सूर्य थापा सभापति

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १८:१९, काठमाडौँ

सहकारी समस्याबारे अध्ययन गर्न ७ सदस्यीय संसदीय छानबिन समिति बनेको छ।

प्रतिनिधि सभाको बैठकबाट ७ सदस्यीय समिति घोषणा गरिँदै छ। समितिको कार्यावधि ३ महिना हुने भएको छ। समितिको सभापति नेकपा एमालेका अध्यक्ष सूर्य थापा चयन भएका छन्।

समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकले समिति घोषणा गरेको हो। संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि प्रतिनिधि सभाको बेग्लै बैठक बसेको थियो।

सोमबार बेलुका साढे तीन घण्टा प्रधानमन्त्रीको रोहबरमा बालुवाटारमा बसेको कार्यदलको बैठकले समझदारी जुटाएको कार्यादेशलाई मंगलबार बैठक बसेर अन्तिम रूप दिइएको हो। 

‘माननीय सूर्यबहादुर थापालाई संयोजक प्रस्ताव गरिएको छ,’ माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले भने।

समितिको कार्यादेशमा सहमति जुटेसँगै संसदको गतिरोध अन्त्य भएको छ। 

समितिको कार्यक्षेत्र यसप्रकार तोकिएको छ-
१. सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने।

३. नेपाल सरकार, सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची-१ मा उल्लेख भएका संस्थाहरू (२० वटा) लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रिया कहाँ पुगेको छ, सोको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने।

४. सहकारी संस्था सदस्य (सेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुर्‍याएको भनी संघीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरू (९ वटा) बाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए-नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २० सहकारी (अनुसूची १)
१ ओरेन्टल कोअपरेटिभ लिमिटेड
२. स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
३. प्यासिफिक सेभिङ एन्ड इन्भेस्ट मेन्ट कोअपरेटिभ
४. प्रभु बचत तथा ऋण सहकारी संस्था
५. कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था
७. कुवेर बचत तथा ऋण सहकारी संस्था
८. चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
९. भेगास बचत तथा ऋण सहकारी संस्था
१०. स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड
११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था
१२. लुः निभा बहुउद्देश्यीय सहकारी संस्था
१३. पशुपति सेभिङ क्रेडिट कोअपरेटिभ लिमिटेड
१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
२७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
२८. कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
१९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था
२०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

गोर्खा मिडिया (रवि लामिछाने) जोडिएका र अन्य सहकारीहरू (अनुसूची २)
१. आइडियल यमुना बहुउद्देश्यी संस्था
२. इमेज बचत तथा ऋण सहकारी संस्था लि
३. सहारा बचत तथा ऋण सहकारी,
४. समानता वचत तथा ऋण सहकारी
५. सानो पाइला वचत तथा ऋण सहकारी
६. सुप्रिम बचत तथा ऋण सहकारी,
७. सूर्यदर्शन बचत तथा ऋण सहकारी,
८. सुमेरू बचत तथा ऋण सहकारी
९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी र अन्य।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .