ad ad

राजनीति


बूढानीलकण्ठमा प्रचण्ड र देउवाको छलफल

बूढानीलकण्ठमा प्रचण्ड र देउवाको छलफल

देउवा निवास बूढानीलकण्ठमा आइतबार बिहान जारी प्रचण्ड र देउवाको छलफल


नेपालखबर
जेठ १३, २०८१ आइतबार ९:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ। 

दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भइरहेको हो। 

सहकारी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारका विषयमा सहमति प्रयास भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो। 

संसदीय छानबिन समिति नबन्दासम्म संसद्‌मा अवरोध जारी राख्ने अडान लिइरहेको कांग्रेसलाई सहमतिमा ल्याउन प्रधानमन्त्री प्रयासरत छन्। 

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्था र कम्पनी (गोरखा मिडिया) को नाम उल्लेख गर्ने लगभग सहमति भएको छ।

तर यसलाई अन्तिम रूप दिन बाँकी छ। यस विषयमा आजै बिहान शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल गर्ने भनिएको थियो। तर त्यसअघि प्रधानमन्त्री प्रचण्ड देउवाको निवास बूढानीलकण्ठ पुगेका हुन्। 

यसअघि प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै राख्नुपर्ने अडान लिइरहेको थियो। तर पछिल्लो समय अलि लचक हुँदै कांग्रेसले व्यक्तिको नाम नतोक्ने तर गृहमन्त्री लामिछाने जोडिएका संस्थासम्म उल्लेख गर्नेमा सहमति जनाएको छ। तर यसले आधिकारिकता पाइसकेको छैन। 

यसैबीच आजै कांग्रेसले सहकारी ठगीविरुद्ध सडक स‌ंघर्ष सुरु गर्ने घोषणा गरेको छ भने सरकार संसद्‌बाट नीति तथा कार्यक्रम पास गर्ने तयारीमा छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .