आफूलाई छाडेर गएका सांसदलाई मतदानबाट रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सोमबार सुनुवाइ नहुने करिब निश्चित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएपछि यादवले अशोक राईको नेतृत्वमा लागेका ७ सांसदलाई विश्वासको मत दिनबाट रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेका थिए।
तर अशोक राईसहितका ७ सांसदले सोमबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेका छन्।
उपेन्द्र यादवबाट अलग भएर नयाँ पार्टी गठन गरिसकेका अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, रञ्जुकुमारी झा, हसिना खान, सुशीला श्रेष्ठ र नवलकिशोर साहले मत दिएका हुन्। उनीहरूको समेत गरी प्रधानमन्त्रीले १५७ मत पाएका छन्।
यादवको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ। तर पेसी सूचीको अन्तिममा रहेकाले आज पालो आउने सम्भावना कम छ। यस इजलासमा अहिलेसम्म ५ वटा रिट निवेदनमा सुनुवाइ भएको छ।
उपेन्द्रको रिटमा पालो आउन अझै ६ वटा रिटको सुनुवाइ सक्नुपर्नेछ। जुन आज निकै कम सम्भावना रहेको सर्वोच्च प्रशासनले जनाएको छ।
उपेन्द्र यादवले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको दर्ता प्रक्रिया नै बदर गर्नुपर्ने माग राखी बेग्लै रिट यसअघि नै दायर गरिसकेका थिए। उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो।
उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल भने विश्वासको मत दिने प्रक्रियामा सामेल भएन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलको बहिष्कार र नाराबाजीका बीच प्रचण्डले विश्वासको मत पाइसकेका छन्।
Shares

प्रतिक्रिया