ad ad

राजनीति


भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

नेपालखबर
जेठ २, २०८१ बुधबार ८:४९, काठमाडौँ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको उल्लेख गर्दै आपसमा देखिएका समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन्। 

परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृङ्खलामा मङ्गलबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए। 

नेपाल-भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृङ्खलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, ‘तर दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन्, जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरूप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ। यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्नेछ,  यसका लागि नेपाल सरकार प्रतिबद्ध छ।’

द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्‍याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताए।

उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए। पारस्परिक लाभका विविध क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै उनले ऊर्जाको क्षेत्रको साझेदारी महत्त्वपूर्ण छ भने। 

उनले भने, ‘नेपालको जलविद्युत्  उत्पादनको अथाह क्षमताको समुचित उपयोगले हाम्रो क्षेत्रको विकास परिदृष्यलाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सक्छ। व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको छ । हामीले यो सञ्जाललाई थप विस्तार र सुधार गर्न आवश्यक छ।’

दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले  व्यापार घाटा बढ्दै गएको  तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको बताउँदै मन्त्री श्रेष्ठले  नेपालमा लगानी सुरक्षित र लाभदायक रहेको उनले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .