ad ad

राजनीति


एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनका मस्यौदामाथि छलफल

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनका मस्यौदामाथि छलफल

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १८:२९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ।

शनिबारबाट काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेको हो।

‘आज कार्यपत्रहरु बाँडिएको छ, दस्तावेजहरु। यसमा स्थायी कमिटीका सदस्यहरुले भोलि ११ बजेदेखि छलफल गर्नुहुनेछ। उहाँहरुको सुझाव संकलन गर्दै हामीले भोलीको सट्टा पर्सी पोलिटब्यूरो बैठक बस्नेछौं। केन्द्रिय कमिटी बैठक पनि एक एक दिन पछि सर्दै गएको छ,’ उनले भने।’

त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक आज सुरुवात भयो। हामीले बनाएको कार्यतालिका अनुसार आज बैठक सक्नुपर्नेमा छलफलको क्रम नसकिएको हुनाले भोलि पनि यो स्थायी कमिटीको बैठक चल्नेछ। आज बैठकमा पार्टी अध्यक्षले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्नुभयो,’ उनले भने, ‘महासचिव घनश्याम भुसालले संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यो पनि मस्यौदा थियो। र विधान संशोधनमा आवश्यक पर्ने कुराको लागि बनाइएको मस्यौदा प्रस्ताव पनि संगठन विभाग प्रमुख पार्टीका उपाध्यक्ष वेदुराम भुसालले प्रस्तुत गर्नुभयो। र हाम्रो आगामी कार्यक्रम अर्थात पार्टीको समाजवादी कार्यक्रम त्यो कार्यक्रम प्रस्तुत गर्नुभयो कमरेड झलनाथ खनालले।’

नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। सोही महाधिवेशनमा प्रश्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल शुरु गरिएको हो। 

स्थायी कमिटीका सदस्यहरूले आइतबार छलफल गरेपछि सोमबार बोलाइएको पोलिटब्यूरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रिय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने पनि प्रवक्ता खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .